काठमान्डौ, पौष १५ गते । अस्थायी शिक्षकको अन्तर्वार्ताका लागि धनकुटा खटिएका शिक्षक सेवा आयोगका उपसचिव बिरसिंह धामिको निधन भएको छ । आईतबार बिहान अकस्मात विरामी भएका उनको उपचारकै क्रममा निधन भएको शिक्षा विकास निर्देशनालय धनकुटाका निर्देशक लक्ष्मी प्रसाद भट्टराईले जानकारी दिए ।
केही बेर ब्याडमिण्टन खेलेर नुवाई धुवाई सकेपछि अकस्मात आफूलाई सास फेर्न गाह्रो भएको बताए लगत्तै उनलाई हतार हतार अस्पताल पुर्याएर उपचार गर्दा गर्दै विहान साढे ८ बजे तिर निधन भएको भट्टराईले बताए । भट्टराईका अनुसार बिहान २० मिनेट जति ब्याडमिण्टन खेलेर उनी आफू बस्दै आएको निर्देशनालयकै कोठामा फर्किएका थिए ।
धामिका श्रीमती १ छोरा र १ छोरी छन् । उनकी श्रीमती उमा बुढाथोकी विद्यालय निरिक्षक हुन् हाल उनी शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा कार्यरत छन् । छोरी अष्ट्रेलिया र छोरा भारतमा अध्ययन गर्दै आएका पारिवारिक श्रोतले जनाएको छ ।
गएको बुधबार देखि शुरु निमावि तहको अस्थायी शिक्षकको अन्तर्वार्ताका लागि उनी धनकुटा आएका थिए । सोमबार अन्तर्वार्ताको अन्तिम दिन थियो । भट्टराईका अनुसार उक्त काम सकेर उनी सोमबारै फर्कने तयारीमा थिए ।