प्रचण्डकी पत्नी अझै बिरामी : कस्तो रोग लागेको हो पत्नी सीतालाई

  • प्रकाशित मिति: शनिबार, मंसिर २२ २०७५
  • तामाकोशी

काठमाडौं – नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालपत्नी सीतालाई वंशानुगत पार्किन्सन भएको पाइएको छ। सोसाइटी अफ लाइफ साइन्सेस नेपाल र डिकोड जिनोमिक्स एन्ड रिसर्च सेन्टरले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा दाहालले भने, ‘सीताजीलाई पनि पार्किन्सनको समस्या देखिएको छ ।’
असोज १० मा उनी पत्नीको उपचारका लागि सिंगापुर गएका थिए । दाहालपत्नी सीतामा पार्किन्सनका लक्षण देखिएको सिंगापुरका डाक्टरले बताएको उनको पारिवारिक स्रोत बताउँछ। यही रोगको निदानका लागि कात्तिक २६ मा पत्नी सीतालाई लिएर दाहाल म्याग्दीको तातोपानी पनि पुगेका थिए।

मस्तिष्कमा रहेको नसासम्बन्धी समस्या नै पार्किन्सन रहेको त्रिवि शिक्षण अस्पतालका नसारोग विभाग प्रमुख डा. रागेश कर्ण बताउँछन्। यो रोग लागेपछि मस्तिष्कको नसा सुक्दै जान्छ। ‘विगतमा मस्तिष्क ज्वरो आएको, औषधिको असर र मस्तिष्कमा चोटपटक लागेको छ भने पनि पार्किन्सन रोग हुन सक्छ,’ उनले भने।



पार्किन्सन भएका बिरामीको गति सुस्त हुन्छ। हातखुट्टा काँप्छन्। ‘हिँड्दाहिँड्दै लड्ने डर पनि हुन्छ। हरेक क्षण ख्याल गर्नुपर्छ’, वरिष्ठ स्नायुरोग विशेषज्ञ डा. कर्णले भने। वंशानुगत कारणले भएको पार्किन्सन निको पार्न नसकिने डा. कर्ण बताउँछन्। फिजियोथेरापी र औषधोपचार गरेर जीवनलाई कष्टमुक्त बनाउन सकिने उनको भनाइ छ।

यसैबीच वंशानुगत रोगसम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलन शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ। सम्मेलनको दाहालले उद्घाटन गरेका छन्। कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. बुद्धिरत्न खड्गीले स्वदेशमा अवसर नपाउँदा वैज्ञानिक एवं चिकित्सक पलायन हुने समस्या बढेकोमा चिन्ता व्यक्त गरे। वंशानुगत रोगको अध्ययनअनुसन्धान अत्यावश्यक भएको नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अध्यक्ष डा. अञ्जनीकुमार झाले बताए। साभार अन्नपूर्ण पोस्ट