कुन नेतालाई के रोग ?
काठमाडौं, १५ कात्तिक । यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालको शैयामा उपचाररत छन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेल पनि अहिले विरामी छन् । प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई उपचारका लागि विदेश गएका छन् । केहीसमयअघि क्यान्सरका कारण तत्कालिन प्रधानमन्त्री शुशील कोइरालाको निधन भयो । केहीदिनअघि मस्तिष्कघातका कारण नेता चक्रप्रसाद बास्तोलाको मृत्यु भयो । त्यस्तै, केही समयअघि नेता पोष्टवहादुर बोगटीको अल्पायूमै मृत्यु भयो ।
देशका उच्चपदस्थ अधिकांश नेताको स्वास्थ्य ‘खराब’ छ । कोही ३० बर्षे पन्चायत ढाल्न लागेका त कोही १० बर्षे युद्धमा चोटपटक र यातना सहेका कारण पनि नेताको स्वास्थ्य खराब छ । कतिलाई बुढ्यौलीले छोएको छ । दैनिक दौडधूप, तनाव, खानपिनमा बेवास्तासँगै शारीरिक व्यायामको अभावमा नेताहरु रोगी हुँदै गएको चिकित्सकको तर्क छ । अहिले नेपालका उच्चपदस्थ कुन नेतालाई के रोग छ ?
प्रधानमन्त्री केपी शर्मा ओली
प्रधानमन्त्री केपी शर्मा ओली रोगी नेतामध्ये एक हुन् । उनको अहिले शिक्षण अस्पतालमा उपचार भइरहेको छ । मिर्गौलापीडित प्रधानमन्त्री ओलीलाई फोक्सोमा समेत समस्या देखिएको छ । उनको दुबै मिर्गौला प्रयारोपण गरिएको हो । त्यस्तै, उनका स्यालुलाइटिस भनिने छालाको संक्रमण छ ।
पूर्वप्रधानमन्त्री झलनाथ खनाल
खनाल राति आँखा देख्दैनन् । रतन्धो भएका उनी साँझ परेपछि सहयोगीबिना हिँडडुल गर्न सक्दैनन् । विद्यार्थी राजनीति गर्दा नै खनाललाई टीबी भएको थियो । उपचारपछि टीबी त निको भयो तर त्यसको ‘साइडइफेक्ट’का रुपमा उनलाई आँखा नदेख्ने रोग देखिएको हो । त्यस्तै खनाललाई मुटुको पनि समस्या छ । उच्च रक्तचापका कारण मुटुमा समस्या देखिएको चिकित्सकले बताएका छन् । उनको मिर्गौलामा पनि समस्या छ ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल
दाहाललाई उच्च रक्तचाप र मधुमेहको समस्या छ । चिकित्सकहरुकोे सल्लाह अनुसार उनी औषधि सेवन गरिरहेका छन् । हरेक दिन बिहान व्यायामलाई निरन्तरता दिने गरेका कारण अहिले रक्तचाप र मधुमेहमा सुधार आएको छ । यद्यपि, कतिबेला रोग बल्झन्छ ? अनिश्चित छ ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल
नेपाललाई मुटु र फोक्सोसम्बन्धी समस्या छ । उच्च रक्तचाप पनि छ । यसअघि उनलाई निमोनिया भएको थियो । पिसाबमा पनि संक्रमण भएको थियो । त्यसपछि उनले दैनिकीलाई सुधारेका छन् । अचेल नेपाल योग र व्यायाम गर्छन् । खानपानमा ध्यान दिन्छन् ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा
पेट र उच्च रक्तचापको समस्याबाट नेता शेरबहादुर देउवा पीडित छन् । उनी पेटको नियमित परीक्षण गराउन सिंगापुरमा जाने गरेका छन् । उनले पछिल्लो समय खानपानमा ध्यान पु¥याउन थालेका छन् ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री भट्टराई रक्तचापबाट ग्रस्त छन् । जसकारण उनको दैनिक र राजनीतिक जीवन समेत प्रभावित छ । उनी अचेल खानपानमा खुब ध्यान दिन्छन् ।
नेता रामचन्द्र पौडेल
सुगर, युरिक एसिड, पिसाब र ढाडको समस्याबाट नेता पौडेल पीडित छन् । उनको स्वस्थ्यस्थितिमा उतारचढाव आइरहन्छ । उनलाई पायल्सको पनि समस्या थियो ।
अरु नेताको स्थिति पनि उस्तै
मुटुको शल्याक्रिया गरिसकेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई सुगर र रक्तचापको समस्या छ । नेकपा क्रान्तिकारीका नेता मोहन वैद्यलाई दम र रक्तचापको समस्या छ । राजपाका नेता राजेन्द्र महतो उच्च रक्तचाप र मधुमेहको विरामी हुन् । नेता महन्थ ठाकुर मुटु रोगी हुन् । त्यस्तै नेताहरु महेन्द्र यादव र शरतसिंह भण्डारी मधुमेहका विरामी हुन् ।
चिकित्सकको पाँच सुझाव
नियमित स्वस्थ्य परीक्षण गर्नुस्
धेरै तनाव नलिनुस्
दैनिकी व्यवस्थित पार्नुस्
समयमै सन्तुलित खाना खानुस्
सकारात्कम सोचको विकास गर्नुस्
व्यायाम गर्नुस्