परीक्षणका लागि लुक्ला उडेको विमान रामेछापमा अवतरण

  • प्रकाशित मिति: मंगलबार, असोज ९ २०७५
  • तामाकोसी खबर

रामेछाप । असोज ९ गते,
नेपाल एयरलाइन्सले सोमबार वाई(१२ चिनियाँ जहाजको परीक्षण उडान गरेको छ । काठमाडौंबाट सोलुखुम्बुको लुक्लाका लागि उडेको नयाँ जहाज मौसमको प्रतिकुलताका कारण लुक्लामा अवतरण हुन नसकी रामेछापको मन्थलीमा अवतरण भयो । परीक्षण उडानका लागि चालक दलका सदस्य र प्राविधिकसहित १० जनालाई बोकेर उडेको चिनियाँ विमान बाक्लो हुस्सु र बादलका कारण लुक्लामा अवतरण हुन नसकी रामेछापको मन्थली विमानस्थलमा अवतरण भएको थियो ।
सोमबारको परीक्षण उडानको नेतृत्व क्याप्टेनद्वय आङ नुरी शेर्पा र उद्वव घिमिरेले गरेका थिए । जहाजको परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको पाइटललाई उद्धृत गर्दै निगम स्रोतले बतायो । चीनबाट ल्याइएको १६ यात्रु बोक्ने क्षमताको वाई(१२ ट्विनअटर जहाज अहिलेसम्म परीक्षण उडान हुन नसकी थन्किइरहेको थियो । सुगतरत्न कंसाकारले व्यवस्थापन राम्रो गर्न नसकेको आरोप लागिरहेका बेला निगमको कार्यकारी अध्यक्षमा मदन खरेल आएको एकसाता नबित्दै थन्किएको जहाजको परीक्षण उडान सुरु गरिएको हो । मंगलबार बिहान लुक्लाको परीक्षण उडान सकिएपछि रारा, डोल्पा, सिमिकोट र जोमसोममा पनि परीक्षण उडान गरिने र त्यसलगत्तै यात्रुहरुका लागि व्यवसायिक उडान सुरु गरिने वायु सेवा निगम स्रोतले बतायो ।