एक बर्षदेखी बन्द रामेछापको लाप्चाने इलाका प्रशासन कार्यालय पुनः संचालन हुने

  • प्रकाशित मिति: मंगलबार, साउन २२ २०७५
  • तामाकोसी खबर

रामेछाप । साउन २२ गते,
रामेछापको उत्तरी भेगका नागरिकहरुलाई स्थानीय स्तरमा नै सेवा प्रवाहको लागि उमाकुण्ड गाउँपालिकाको लाप्चानेमा स्थापना भई बन्द रहेको इलाका प्रशासन कार्यालय पुनः संचालन हुने भएको छ । आवश्यक कर्मचारीको अभावमा एक बर्ष देखी बन्द रहेको इलाका प्रशासन कार्यालयका लागि गृहमन्त्रालयले कर्मचारीको व्यवस्था गरेपछि फेरी संचालन हुने भएको हो । रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले बन्द रहेको इकाला प्रशासन कार्यालय सञ्चालन गर्नको लागि गृह मन्त्रालयले कर्मचारीको व्यवस्था गरेको बताए । उनले मन्त्रालयले आवश्यक कर्मचारीको व्यवस्था गरेकाले इलाका प्रशासन कार्यालय अबको १५ दिनभित्र फेरी संचालन हुने बताए । इलाका प्रशासन कार्यालय लाप्चानेमा एक जना अधिकृत, दुई जना नायक सुब्बा, एक सहायक कम्प्युटर प्राविधिक र दुई जना कार्यालय सहयोगीको दरबन्दी रहेको छ । गत बर्षको भदौै ९ गतेबाट उक्त इकाला प्रशासन कार्यालय कर्मचारीको अभावमा बन्द भएको थियो । स्थानीय जनप्रतिनिधिले पटक–पटक सेवा सञ्चालन गर्न माग गरेका थिए । केही समय अघि मात्र रामेछापका प्रतिनिधिसभा सासंद श्यामकुमार श्रेष्ठको नेतृत्वको टोलीले कार्यालय पुनः सञ्चालनको लागि कर्मचारीको व्यवस्था गर्न गृह मन्त्री रामबहादुर थापाको ध्यानाकर्षण समेत गराएका थिए ।
गृहमन्त्री थापाले तत्काल कर्मचारीको व्यवस्था गर्ने प्रतिबद्धता अनुसार उक्त कार्यालयमा कर्मचारी खटाइएको छ । गृह मन्त्रालयले इकाला प्रशासन कार्यालय लाप्चानको लागि सञ्जय अधिकारीलाई कार्यालय प्रमुखको रुपमा जिम्मेवारी तोकेको छ । रामेछापको उत्तरपूर्वी क्षेत्रमा रहेको साविकको ८ वटा गाविसका नागरिकलाई सेवा पुर्याउने उदेश्यले कार्यालय सञ्चालनमा ल्याइएको थियो । तर दुई बर्ष अघि सञ्चालनमा आएको कार्यालयबाट तीन महिना मात्र सेवा प्रवाह भएको थियो । कार्यालयमा सरकारले अधिकृतस्तरको कर्मचारी पठाउन नसक्दा केही समय सञ्चालन हुने र बन्द हुने क्रम चल्दै आएको थियो । एक बर्षदेखि पूर्ण रुपमा उक्त कार्यालयबाट सेवा प्रदान हुन सकेको छैन् । ईलाका प्रशासन कार्यालयले नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, नाता प्रमाणित लगायतका सेवा प्रदान हुन्छ । कार्यालय बन्द हुँदा यस क्षेत्रका नागरिकहरु नागरिकता बनाउने लगायतको सेवा लिन सदरमुकाम मन्थली धाउन बाँध्य हुदै आएका थिए । ईलाका प्रशासन कार्यालय लाप्चानेबाट जिल्लाका उत्तरपूर्वका तत्कालिन प्रीति, भूजी, गुप्तेश्वर, चुचुरे, गुम्देल, कुभुकास्थली, ठोसे र बाम्तीभण्डारका नागरिकहरुले सेवा लिदै आएका थिए । लाप्चाने आसपासको क्षेत्रबाट सदरमुकाम मन्थली आउनको लागि चार घण्टा गाडीको यात्रा गर्नुपर्छ । पुनः कार्यालय सञ्चालनमा आउने भएपछि यस क्षेत्रका सर्वसाधारण हर्षित भएका छन् ।