जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री कार्यालयमा दलित संस्थाको ज्ञापन–पत्र

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ २९ २०७५
  • तामाकोसी खबर

रामेछाप । जेठ २९ गते,
दलित महिला जनप्रतिनिधिको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दे दलित संवद्ध विभिन्न संघसंस्थाहरुले जिल्ला प्रशासन कार्यालय रामेछाप सोमबार ज्ञापनपत्र बुझाएका छन् । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ घाँटिकोट गाउँकी ४५ बिर्षकी मना सार्की तत्कालिन नेकपा एमालेका तर्फबाट वडा सदस्यमा बिजयी भएकी थिइन् ।
जेठ १९ गते धाराको पानी छोएको आरोपमा कुटपीट गरी गम्भिर घाइते भएकी उनको उपचारको क्रममा ज्यान गएको थियो । सो घटनामा संलग्नलाई कडा कारवाहीको माग गर्दै ज्ञापनपत्र बुझाइएको हो । त्यसैगरी विभिन्न समयमा दलित समुदायका ब्यक्तिमाथि कुटपीट तथा हत्यामा संलग्न भएका ब्यक्तिहरुलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै जिल्लामा क्रियाशिल १० वटा दलित संघ संस्थाका प्रतिनिधिहरुले हस्ताक्षेर गरी ज्ञापनपत्र बुझाएको स्थानीय दलित गैरसरकारी संस्था महासंघ रामेछाप अध्यक्ष गम्भीर विकले जानकारी दिए ।
ज्ञापन पत्र बुझ्दै रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञ प्रसाद शर्माले अहिलेको युगमा जातिय छुवाछुतको घटना हुनु दुखद भएको बताए । उनले ज्ञापनपत्रमा माग गरिएको बिषय गम्भीर भएकाले तत्काल प्रधामन्त्री कार्यालयमा पठाउने प्रतिवद्धता जनाए ।