रामेछाप । मन्थली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ३ करोड २० लाख रुपियाँको बजेट ल्याएको छ। १९औँ नगरसभाको बजेट अधिवेशनबाट उक्त बजेट सार्वजनिक गरिएको हो।
आज भएको नगरसभामा नगरप्रमुख लब श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपप्रमुख इश्वरी बस्नेतले बजेट प्रस्तुत गर्नुभएको थियो। सार्वजनिक बजेटमध्ये ७४.०३ प्रतिशत रकम चालु खर्चतर्फ र २५.९७ प्रतिशत रकम पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ।
बजेटको सबैभन्दा ठूलो हिस्सा सामाजिक विकास क्षेत्रमा केन्द्रित गरिएको छ। यस शीर्षकमा कुल बजेटको ५५ प्रतिशत अर्थात् ५६ करोड २७ लाख ६१ हजार रुपियाँ विनियोजन गरिएको छ। पूर्वाधार विकासका लागि २४ प्रतिशत अर्थात् २४ करोड ४१ लाख ९२ हजार रुपियाँ छुट्याइएको छ।
त्यसैगरी कार्यालय सञ्चालन तथा प्रशासनिक व्यवस्थापनका लागि १६ करोड ९३ लाख ९ हजार रुपियाँ, आर्थिक विकास कार्यक्रमका लागि ३ करोड ८६ लाख २३ हजार रुपियाँ तथा सुशासन र अन्तरसम्बन्धित क्षेत्रका लागि १ करोड ७१ लाख २७ हजार रुपियाँ विनियोजन गरिएको छ।
नगरपालिकाले आगामी वर्षको बजेटमार्फत शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, कृषि उत्पादन वृद्धि तथा भौतिक पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ। नगरसभाबाट नीति, कार्यक्रम र बजेट पारित भएसँगै आगामी आर्थिक वर्षका विकास तथा सेवा प्रवाहका कार्यक्रम कार्यान्वयनको बाटो खुलेको छ।