रामेछाप, “औद्योगिक वातावरण सुधारः दिगो अर्थतन्त्रको आधार” भन्ने मूल नाराका साथ बोटे, माझी, हायु, मुसहर र वनकरिया समुदायका लागि सञ्चालन गरिएको स्वरोजगार परियोजना अन्तर्गतको सातदिने घरबास (होमस्टे) व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ।
मन्थली नगरपालिकाको समन्वय, माझी उत्थान सङ्घ रामेछापको सहजीकरण तथा उद्योग तथा वाणिज्य कार्यालय रामेछापको आयोजनामा सञ्चालन भएको तालिममा माझी समुदायका २० जना महिला तथा पुरुषको सहभागिता रहेको थियो।
तालिम समापन कार्यक्रममा मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठ को प्रमुख आतिथ्यता, मन्थली नगरपालिका–१ का वडाध्यक्ष होम बहादुर पौडेल को विशेष आतिथ्यता तथा उद्योग तथा वाणिज्य कार्यालय रामेछापका प्रमुख खेमराज घिमिरे को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
समापन कार्यक्रममा सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न स्थानीय सरकारको थप सहयोग आवश्यक रहेको बताएका छन्। होमस्टे सञ्चालनका लागि आवश्यक पूर्वाधार, बजारीकरण तथा प्राविधिक सहयोगमा स्थानीय तहले विशेष ध्यान दिनुपर्ने उनीहरूको माग थियो।
कार्यक्रममा नगर प्रमुख श्रेष्ठले पर्यटन र स्वरोजगार प्रवर्द्धनका लागि नगरपालिकाले आवश्यक समन्वय र सहकार्य गर्न तयार रहेको बताउनुभयो। व्यवसाय सञ्चालन गर्न इच्छुक नागरिकलाई स्थानीय सरकारले नीतिगत तथा संस्थागत सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो।
तालिममा होमस्टे व्यवस्थापन, अतिथि सत्कार, सरसफाइ, स्थानीय परिकार प्रवर्द्धन, पर्यटन सेवा तथा उद्यमशीलता विकासलगायत विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। आयोजकका अनुसार यस्ता तालिमले सीमान्तकृत तथा पिछडिएका समुदायलाई स्वरोजगारतर्फ उन्मुख गराउँदै आयआर्जन वृद्धि र ग्रामीण पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।