रामेछापमा सुरक्षित वैदेशिक रोजगार तथा न्याय निरुपणमा प्रहरीको भूमिकाबारे अन्तरक्रिया

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ २६ २०८३
  • तामाकोशी

रामेछाप, वैदेशिक रोजगारीका नाममा हुने ठगी तथा त्यसबाट समाजमा परेको नकारात्मक प्रभाव न्यूनीकरण गर्न सम्बन्धित निकायबीच समन्वय र जनचेतना अभिवृद्धि गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

जिल्ला प्रहरी कार्यालयमा आज “सुरक्षित वैदेशिक रोजगार तथा न्याय निरुपणमा प्रहरीको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। सोही अवसरमा सामी (SaMi) कार्यक्रम अन्तर्गत जिल्लामा भएका गतिविधिको प्रगति समीक्षा र आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो।
कार्यक्रममा वैदेशिक रोजगारीको वर्तमान अवस्था, यसले परिवार र समाजमा पारेको सामाजिक तथा आर्थिक प्रभाव, वैदेशिक रोजगारसम्बन्धी उजुरीको अवस्था तथा त्यसको कानुनी निरुपणका विषयमा विस्तृत छलफल भएको थियो। सहभागीहरूले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रणका लागि स्थानीय तह, प्रशासन, प्रहरी र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा मन्थली नगरपालिकाका नगर प्रमुख लब श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटा, महाशाखा प्रमुख हितकुमारी पौडेल, वरिष्ठ अधिकृत दीपक सुबेदी, प्रशासकीय अधिकृत तथा विभिन्न शाखामा कार्यरत कर्मचारीहरूको सहभागिता रहेको थियो।
त्यसैगरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (प्र.ना.उ.) सन्तुलाल प्रसाद जैसवार, इन्स्पेक्टर तथा वैदेशिक रोजगारसम्बन्धी मुद्दा हेर्ने अधिकृतहरू, सामी–हेल्भेटास कार्यक्रमका कार्यक्रम अधिकृत उमा पौडेल, दीपक के.सी. लगायतको पनि उपस्थिति रहेको थियो।
अन्तरक्रियामा वैदेशिक रोजगारसम्बन्धी उजुरी व्यवस्थापनमा प्रमुख जिल्ला अधिकारीको भूमिका, अनुसन्धान तथा न्यायिक प्रक्रियामा नेपाल प्रहरीको जिम्मेवारी, र सुरक्षित तथा कानुनी माध्यमबाट मात्र वैदेशिक रोजगारीमा जान नागरिकलाई सचेत गराउने विषयमा विशेष जोड दिइएको थियो।
कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार रामेछापमा वैदेशिक रोजगारी ठगीसम्बन्धी अनुसन्धानका क्रममा आर्थिक वर्ष २०८०/८१ मा ६६५ जना, २०८१/८२ मा ७४ जना र २०८२/८३ मा ११४ जना गरी तीन आर्थिक वर्षमा कुल ८५३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको विवरण सार्वजनिक गरिएको छ। यसले वैदेशिक रोजगारीका नाममा हुने ठगीप्रति थप सतर्कता अपनाउनुपर्ने आवश्यकता औँल्याएको सहभागीहरूको निष्कर्ष रहेको छ।