नागदहको ऐतिहासिक ह्याट्रिक, तेस्रो वडा अध्यक्ष कपको उपाधि फेरि आफ्नै पोल्टामा

  • प्रकाशित मिति: शुक्रबार, जेष्ठ १५ २०८३
  • तामाकोशी

रामेछाप । लिखुतामाकोशी गाउँपालिका–५ मा आयोजित “तेस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता २०८३” को उपाधि नागदह युवा समाजले जितेको छ। अत्यन्त प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा नागदह युवा समाजले छार मेन्दो समाज धोवीलाई ३–१ सेटले पराजित गर्दै लगातार तेस्रो पटक उपाधि कब्जा गरेको हो।यससँगै नागदह युवा समाजले पहिलो, दोस्रो र तेस्रो संस्करणको वडा अध्यक्ष कप लगातार जित्दै ऐतिहासिक ह्याट्रिक पूरा गरेको छ। जेष्ठ १४-१५ सम्म आयोजित प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको टोलीले दर्शकको समेत मन जित्न सफल भयो।
प्रतियोगितामा ५ टोलीको सहभागिता रहेको थियो। उपविजेता छार मेन्दो समाज धोवी बनेको छ भने नागदह भलिबल समाज तेस्रो स्थानमा रह्यो। उज्यालो नेपाल पार्टीले सान्त्वना स्थान हासिल गरेको आयोजकले जनाएको छ।
प्रतियोगिताका विजेताले नगद ३५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। दोस्रो हुने टोलीले नगद २४ हजार, तेस्रो हुने टोलीले १८ हजार तथा सान्त्वना हुने टोलीले १२ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
खेलकुद प्रतियोगिताको उद्घाटन तथा समापन कार्यक्रम गाउँपालिका अध्यक्ष केशव महत को प्रमुख आतिथ्यता, गाउँपालिका उपाध्यक्ष दिपा पाख्रीन को विशेष आतिथ्यता तथा वडा अध्यक्ष रोम बहादुर तामाङ को अध्यक्षतामा सम्पन्न भएको थियो।
समापन कार्यक्रममा सहभागी नेपाली कांग्रेस वडा सभापति टेक बहादुर घिसिङले खेलाडीहरुको हौसला अभिवृद्धिका लागि भन्दै पुरस्कार राशिमा थप १४ हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको थियो।
स्थानीय स्तरमा खेलकुदको विकास, युवामा उत्साह र सामाजिक एकता मजबुत बनाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको सहभागीहरुले बताएका छन्।