बागमती प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा मन्थली माविकी रिश्ता दोस्रो बनिन्

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ १४ २०८३
  • तामाकोशी

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीस्थित मन्थली माध्यमिक विद्यालयकी छात्रा रिश्ता कार्की बागमती प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा द्वितीय भएकी छन् ।

बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालयले १८ औँ गणतन्त्र दिवस २०८३ को अवसरमा आयोजना गरेको “गणतन्त्र स्थापनाको १८ वर्ष ः कार्यान्वयन र चुनौती” विषयक माध्यमिक विद्यालय (कक्षा ९–१२) स्तरीय निबन्ध प्रतियोगितामा कार्कीले दोस्रो स्थान हासिल गरेकी हुन् ।



हेटौँडास्थित शिक्षा विकास निर्देशनालयले सार्वजनिक गरेको नतिजाअनुसार बागमती प्रदेशभरबाट प्राप्त १६१ निबन्धमध्ये उत्कृष्ट पाँच छनोट गरिएको थियो । बिहीबार प्रकाशित नतिजा अनुसार जनज्ञान निकेत मावि नुवाकोटकी सदिक्षा भण्डारी प्रथम हुँदा रामेछापकी रिश्ता द्वितीय बनेकी हुन् । त्यसै गरी गौमती मावि सिन्धुलीका निराकार सिग्देल तृतीय भएका छन् ।
निर्देशनालयले गत सोमबार सूचना प्रकाशित गर्दै प्रदेशभरका माध्यमिक विद्यालयका विद्यार्थीहरूबिच निबन्ध प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगिताको विषय “गणतन्त्र स्थापनाको १८ वर्ष ः कार्यान्वयन र चुनौती” राखिएको थियो ।

सहभागी विद्यार्थीले ३०० देखि ५०० शब्दसम्मको निबन्ध पठाउनुपर्ने व्यवस्था गरिएको थियो । प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, द्वितीयलाई १२ हजार, तृतीयलाई १० हजार तथा दुई जना प्रोत्साहन पुरस्कार प्राप्त गर्ने विद्यार्थीलाई जनही ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार विजेता विद्यार्थीलाई १८ औँ गणतन्त्र दिवस मूल समारोह कार्यक्रमका अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा शुक्रवार पुरस्कार तथा प्रमाणपत्र वितरण गरिनेछ ।