आज ३३ औँ मदन–आश्रित स्मृति दिवस, रामेछापमा अन्तरक्रिया

  • प्रकाशित मिति: आइतबार, जेष्ठ ३ २०८३
  • तामाकोशी

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी रामेछापको आयोजनामा मदन–आश्रित स्मृति दिवसको अवसरमा आइतबार सदरमुकाम मन्थलीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूले उनीहरूको योगदान र विचारबारे चर्चा गरेका हुन् ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज माधव ढुङ्गेलले जनताको बहुदलीय जनवाद नेपाली कम्युनिष्ट आन्दोलनको मौलिक विचार भएको उल्लेख गर्दै मदन भण्डारीको राजनीतिक दृष्टिकोण आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति मोहन कार्कीले मदन–आश्रितले नेपाली राजनीतिमा वैचारिक स्पष्टता र सङ्गठनात्मक संस्कृतिको विकासमा महत्त्वपूर्ण योगदान पु¥याएको बताए ।
त्यस्तै नेपाली काँग्रेस रामेछापका सचिव दीपक खड्काले फरक राजनीतिक विचारधारा भए पनि मदन भण्डारी र जीवराज आश्रितको योगदान सबैले सम्मान गर्नुपर्ने धारणा राखे । नेपाली कम्युनिष्ट पार्टी रामेछापका नेता दीपक प्रसाईँले मदन–आश्रितले नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ दिशा दिएको उल्लेख गर्दै उनीहरूको सङ्घर्षबाट वर्तमान पुस्ताले प्रेरणा लिनुपर्ने बताए । कार्यक्रमका अध्यक्ष एवं एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले मदन भण्डारी र जीवराज आश्रितले नेपाली राजनीतिमा पु¥याएको योगदान ऐतिहासिक रहेको बताए । उनले जनताको पक्षमा समर्पित नेतृत्व, स्पष्ट राजनीतिक विचार र संगठन निर्माणमा मदन–आश्रितको भूमिका सदैव स्मरणीय रहने उल्लेख गरे । यसअघि मन्थलीस्थित मदन–आश्रित चोकमा स्थापित मदन भण्डारी र जीवराज आश्रितको सालिकमा एमाले रामेछापका नेता तथा कार्यकर्ताहरूले माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।