रामेछाप । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गर्दै आएको आयुर्वेदिक स्वास्थ्य शिविर कार्यक्रमलाई निरन्तरता दिएको छ ।
यसैक्रममा धोबी स्वास्थ्य चौकीमा एक दिने निःशुल्क आयुर्वेदिक स्वास्थ्य उपचार शिविर सम्पन्न गरिएको हो । चिकित्सालयको आयोजना तथा लिखु तामाकोशी गाउँपालिका र स्वास्थ्य चौकी धोबीको सहकार्यमा सञ्चालन गरिएको शिविरमा करिब २ सय स्थानीय नागरिकले स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका थिए ।
शिविरमा चिकित्सक डा. सविता भण्डारी को नेतृत्वमा गएको स्वास्थ्यकर्मी टोलीले सेवा प्रदान गरेको थियो । टोलीमा डा. उत्तम गैरे, डा. अरुण टेर्रा लगायतका स्वास्थ्यकर्मी सहभागी रहेका थिए । कार्यक्रममा स्वास्थ्य चौकी धोबीका स्वास्थ्यकर्मीहरूले समेत सक्रिय सहयोग गरेका थिए ।
चिकित्सालयका सूचना अधिकारी हरिनारायण महतो का अनुसार शिविरमा लिखु तामाकोशी गाउँपालिकाको वडा नम्बर २, ३, ४ र ५ बाट ठूलो संख्यामा बिरामीहरू उपचारका लागि आएका थिए ।
शिविरमा अम्लपित्त, ग्याष्ट्रिक, पेट सम्बन्धी समस्या, श्वास–प्रश्वास तथा छाती सम्बन्धी रोग, पिनास, हाडजोर्नी तथा नसासम्बन्धी समस्या, पाइल्स, फिसर, फिस्टुला, उच्च रक्तचाप, मधुमेह, बाथ रोग तथा महिलामा देखिने पाठेघर सम्बन्धी रोगहरूको निःशुल्क परीक्षण गरिएको थियो । साथै बिरामीहरूलाई आवश्यक आयुर्वेदिक औषधि समेत निःशुल्क वितरण गरिएको चिकित्सालयले जनाएको छ ।
चिकित्सालयका फार्मेसी सहायक प्रमोद पोखरेल का अनुसार शिविरमार्फत स्थानीय नागरिकलाई सहज र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्नुका साथै आयुर्वेद उपचारप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो ।