रामेछाप । भोलिबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा रामेछापबाट यस वर्ष २ हजार ४६१ जना विद्यार्थी सहभागी हुने भएका छन्। शिक्षा विकास तथा समन्वय इकाई रामेछापका अनुसार १५५ जना प्राविधिक धारका र २०१ जना ग्रेड वृद्धि परीक्षार्थीसहित कुल २ हजार ४६१ विद्यार्थीले परीक्षा दिन लागेका हुन्।
परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको इकाई प्रमुख नेत्रप्रसाद गजुरेलले जानकारी दिए। उनका अनुसार यस वर्ष जिल्लाभर १४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। अघिल्लो वर्ष १९ वटा केन्द्रबाट परीक्षा सञ्चालन भएको थियो भने २०८० सालमा २४ वटा केन्द्र कायम गरिएको थियो।
यस वर्ष उमाकुण्ड, गोकुलगंगा, खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकामा एक÷एक वटा मात्रै परीक्षा केन्द्र तोकिएको छ। लिखुतामाकोशी गाउँपालिकामा धोबी र खिम्तीमा गरी दुई वटा केन्द्रमार्फत परीक्षा सञ्चालन हुनेछ।
मन्थली नगरपालिकामा फुलासी, नाग कन्या मावि, मन्थली मावि (क र ख) तथा मन्थली क्याम्पसमा गरी पाँच वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ भने रामेछाप नगरपालिकामा दुई वटा केन्द्र तोकिएका छन्।
प्राविधिक धारतर्फ जिल्लाको एक मात्रै परीक्षा केन्द्र मन्थलीस्थित मन्थली माविमा राखिएको छ। साथै, २०७८÷०७९ मा कम ग्रेड ल्याएका १० जना विद्यार्थीका लागि ग्रेड वृद्धि परीक्षा केन्द्र मन्थली नगरपालिका–१ स्थित नाग कन्या मावि गडवारिमा निर्धारण गरिएको छ। परीक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन १४ जना केन्द्राध्यक्षलाई अभिमुखीकरण गरी परिचालन गरिएको शिक्षा विकास तथा समन्वय इकाई रामेछापले जनाएको छ ।
यस बर्ष सम्बन्धित परीक्षा केन्द्रमै उत्तर पुस्तिका परीक्षण गर्ने र परीक्षा भएको दिनमै जाँच सम्पन्न गर्नुपर्ने कार्यविधि बनेको भन्ने जानकारी आएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ।