रामेछाप । प्रतिनिधिसभा निर्वाचनका कारण स्थगित भएको चौथो मन्थली नगर कप पुरुष भलिबल रनिङ शिल्ड तथा दोस्रो मन्थली नगर कप महिला भलिबल प्रतियोगिता आगामी वैशाखको पहिलो हप्तादेखि पुनः सञ्चालन हुने भएको छ ।
नगर खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझीका अनुसार प्रतियोगिता वैशाख ४ गतेदेखि ७ गतेसम्म मन्थली माविको खेल मैदानमा सञ्चालन हुनेछ । विगतका वर्षहरूमा तीन दिनसम्म सीमित रहने प्रतियोगिता यस वर्ष चार दिनसम्म सञ्चालन गरिने उनले जानकारी दिए । हाल प्रतियोगिताको तयारी तीव्र रूपमा अगाडि बढाइएको छ ।
प्रतियोगिता अन्तर्गत पुरुषतर्फ प्रथम हुने टिमले १ लाख रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीयले ७५ हजार र तृतीयले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । सान्त्वना स्थान हासिल गर्ने टिमले ३० हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यसै गरी महिला तर्फ प्रथम हुने टिमलाई ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । द्वितीय हुने टिमले ४० हजार र तृतीयले ३० हजार रुपैयाँ प्राप्त गर्दा सान्त्वना हुने टिमले २० हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र पाउनेछ । यसअघि फागुन ५ देखि ७ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको प्रतियोगिता प्रतिनिधिसभा निर्वाचनका कारण स्थगित गरिएको थियो । १४ वटा वडा रहेको मन्थली नगरपालिकामा नगर खेलकुद विकास समितिले हरेक वर्ष महिला तथा पुरुष नगर कप भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।