वन डढेलो नियन्त्रणमा सचेतना अभिवृद्धि : सप्ताहव्यापी कार्यक्रम सम्पन्न

  • प्रकाशित मिति: शनिबार, चैत्र ७ २०८२
  • तामाकोशी

रामेछाप । “वन डढेलो नियन्त्रणमा प्रभावकारिता, तिनै तहका सरकार र समुदायको सहभागिता” भन्ने मूल नारासहित सञ्चालन गरिएको वन डढेलो रोकथाम तथा नियन्त्रणसम्बन्धी कार्यक्रम आज मन्थलीमा सम्पन्न भएको छ ।
डिभिजन वन कार्यालय रामेछापको आयोजनामा सम्पन्न सप्ताहव्यापी कार्यक्रमको समापन अवसरमा मन्थलीमा र्याली तथा प्रभातफेरी आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न सरकारी निकायका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीय समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।
डिभिजन वन अधिकृत उमा शङ्कर जयसवालको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख प्रेम सागर थापा प्रमुख अतिथि रहनुभएको थियो भने प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाको विशेष आतिथ्यता रहेको थियो ।
उक्त अवसरमा वक्ताहरूले वन डढेलो न्यूनीकरणका लागि सरकारी निकायसँगै स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको औँल्याउँदै सचेतना अभिवृद्धि, पूर्वतयारी तथा समन्वयलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।
वन क्षेत्रको संरक्षण, जैविक विविधता जोगाउन तथा मानव बस्तीलाई जोखिमबाट बचाउन यस्ता जनचेतनामूलक कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्दै कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ ।