रामेछापबाट निर्वाचित डा. बुढाथोकीको १३ लाख निर्वाचन खर्च

  • प्रकाशित मिति: शुक्रबार, फाल्गुन २९ २०८२
  • तामाकोशी

मन्थली, रामेछाप- प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा रामेछापबाट निर्वाचित सांसद डा. कृष्णहरि बुढाथोकीले आफ्नो निर्वाचन खर्चको विवरण जिल्ला निर्वाचन कार्यालयमा पेस गर्नुभएको छ।
निर्वाचन आयोगमा पेस गरिएको विवरण अनुसार उहाँले चुनावी अभियानका क्रममा कुल १३ लाख ५० हजार रुपैयाँ खर्च भएको उल्लेख गर्नुभएको छ।
पेस गरिएको विवरणमा सवारी साधन खर्च, घरदैलो तथा जनसम्पर्क कार्यक्रम, झण्डा–ब्यानर, प्रचार सामग्री, चिया–खाजा, स्वयंसेवक व्यवस्थापन लगायतका शीर्षकमा खर्च भएको देखाइएको छ।
विवरणअनुसार सवारी साधन खर्चमा ४ लाख २० हजार, घरदैलो तथा जनसम्पर्क अभियानमा २ लाख २० हजार, झण्डा–ब्यानर तथा प्रचार सामग्रीमा १ लाख ८० हजार, चिया–खाजामा ४० हजार तथा खाना व्यवस्थापनमा २२ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
त्यसैगरी मतदान प्रतिनिधि व्यवस्थापनमा २ लाख ९० हजार, मनोनयन दर्ता खर्चमा ९० हजार, साउन्ड सिस्टममा ८० हजार, कोठा भाडामा ३० हजार तथा मतदान तथा शिबिर व्यवस्थापनमा ६५ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य उम्मेदवारले चुनावी खर्चको विवरण तोकिएको समयभित्र पेस गर्नुपर्ने व्यवस्था गरेको छ। सोही व्यवस्था अनुसार सांसद बुढाथोकीले खर्च विवरण बुझाउनुभएको हो।