काठमाडौँ । नेपाल राष्ट्र बैंक ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालमा विदेशी विनिमय सञ्चिति उल्लेखनीय रूपमा बढेर ३३ खर्ब २ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्षको माघ मसान्तसम्म आइपुग्दा यस्तो सञ्चिति २३.३ प्रतिशतले वृद्धि भएको देखिएको छ।
राष्ट्र बैंकले बुधबार प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदन अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म विदेशी विनिमय सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो।
अमेरिकी डलरमा गणना गर्दा गत असार मसान्तमा १९ अर्ब ५० करोड डलर रहेको सञ्चिति चालु आर्थिक वर्षको माघ मसान्तसम्म १६.७ प्रतिशतले बढेर २२ अर्ब ७६ करोड डलर पुगेको छ। कुल विदेशी विनिमय सञ्चितिमध्ये भारतीय मुद्राको हिस्सा २१.५ प्रतिशत रहेको छ।
कुल सञ्चितिमध्ये केन्द्रीय बैंक अर्थात् नेपाल राष्ट्र बैंकसँग रहेको हिस्सा २९ खर्ब २६ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ। गत असार मसान्तमा राष्ट्र बैंकसँग यस्तो सञ्चिति २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ थियो। चालु आवको माघ मसान्तसम्म आइपुग्दा केन्द्रीय बैंकमा रहेको सञ्चिति २१.२ प्रतिशतले वृद्धि भएको देखिएको छ।
त्यस्तै, राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थाहरूमा रहेको विदेशी विनिमय सञ्चिति ३ खर्ब ७५ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। गत असार मसान्तमा यस्तो सञ्चिति २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ रहेको थियो।