रामेछाप- गत मंगलबार रामेछापमा भएको बस दुर्घटनामा परी बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताकोर टोलीले बस दुर्घटनास्थल तामाकोशी र सुनकोशी नदीका विभिन्न क्षेत्रमा खोजीको क्रममा सोमबार विहान खुर्काेट पुल नजिक शव फेला परेको हो ।
फेला परेको शव मन्थली नगरपालिका २ पिप्लेका ९ वर्षीय क्रिचन तामाङको रहेको आफन्तजनले पुष्टि गरेको छ । काठमाडौंबाट ओखलढुंगाका लागि छुटेको बा.प्र. ००१-०५ ख ९९७५ नम्बरको अरनिको यातायात सेवा प्रालिको बस मन्थली नगरपालिका–६ स्थित त्रिवेणी पुल नजिकैबाट तामाकोशी नदीमा खसेको थियो। दुर्घटनामा १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए।
बसमा सवार तीन जना बेपत्ता भएका थिए। रामेछाप प्रहरीका अनुसार लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङका ८ वर्षीय रोनिश तामाङ र उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका २४ वर्षीय विशाल सुनुवार अझै बेपत्ता छन्।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भोला भट्टले बेपत्ता व्यक्तिहरूको खोजी कार्य तीव्र रूपमा जारी रहेको जानकारी दिएका छन्।