फागुन २१ को तयारीमा एमाले, रामेछापका सबै पालिकामा चुनावी दौडधुप

  • प्रकाशित मिति: आइतबार, फाल्गुन ३ २०८२
  • तामाकोशी

रामेछाप । आगामी फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा रामेछापमा चुनावी माहौल तातेको छ। अब निर्वाचन आउन १८ दिन मात्र बाँकी रहँदा उम्मेदवारहरू मतदातासँग प्रत्यक्ष भेटघाट, घरदैलो, कोणसभा तथा प्रचार–प्रसारमा सक्रिय भएका छन्।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रामेछापमा १ लाख ८७ हजार ९५२ जना मतदाता रहेका छन् भने यस निर्वाचनमा ३ जना स्वतन्त्रसहित १७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।
आफ्ना उम्मेदवारलाई विजयी गराउने उद्देश्यले नेकपा एमाले रामेछापले चुनावी कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै कार्य तालिका हेरफेर गरेको छ। एमाले रामेछापका सचिव प्रकाशकुमार कार्कीका अनुसार पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार माधवप्रसाद ढुंगेल को पक्षमा जनसमर्थन सुदृढ पार्न जिल्लाभर सघन कार्यक्रम तय गरिएको हो।



संशोधित कार्य तालिका अनुसार फागुन ४ गते सोमबार लिखुतामाकोशी गाउँपालिकाको वडा नं १ देखि ५ सम्म उम्मेदवार ढुंगेलको चुनावी प्रचार–प्रसार, भेटघाट तथा कोणसभा कार्यक्रम सञ्चालन हुनेछन्। फागुन ५ गते मङ्गलवार लिखुतामाकोशी गाउँपालिका वडा नं १, उमाकुण्ड गाउँपालिका वडा नं ६ र ७ मा कार्यक्रम गरिनेछ। त्यसै गरी फागुन ६ गते बुधवार गोकुलगंगा गाउँपालिकाको वडा नं ३ देखि ५ सम्म चुनावी गतिविधि सञ्चालन हुनेछन्।
फागुन ७ गते बिहीबार लिखुतामाकोशी गाउँपालिका वडा नं ६ र ७ तथा मन्थली नगरपालिका वडा नं ८ र ९ मा कार्यक्रम तय गरिएको छ भने फागुन ८ गते शुक्रवार मन्थली नगरपालिका वडा नं ९ को बाहुनचुरादेखि वडा नं १०, १२, १३ र १४ सम्म उम्मेदवार ढुंगेलसहित एमालेको टोली पुग्नेछ। फागुन ११ गते सोमबार दोरम्बा शैलुङ गाउँपालिका वडा नं २, ३ र ६ मा कार्यक्रम सञ्चालन हुनेछन्।

त्यसै गरी फागुन १२ गते मङ्गलवार खाँडादेवी गाउँपालिकाको वडा नं ६, ८ र ९ मा, फागुन १३ गते बुधवार मन्थली नगरपालिका वडा नं २, ३ र ७ मा तथा फागुन १४ गते बिहीबार खाँडादेवी गाउँपालिका वडा नं २, ४, ५ र ७ मा चुनावी कार्यक्रम हुनेछन्। फागुन १५ गते शुक्रवार रामेछाप नगरपालिका वडा नं ६, ७ र ८ मा कार्यक्रम तय गरिएको छ भने फागुन १६ गते शनिवार रामेछाप नगरपालिका वडा नं ९ साथै मन्थली नगरपालिका वडा नं १ र ६ मा चुनावी भेटघाट तथा प्रचार–प्रसार गरिनेछ।

कार्य तालिकाअनुसार फागुन १७ गते आइतबार खाँडादेवी गाउँपालिका वडा नं ३ भिरपानीमा पालिका स्तरीय सभा तथा भेटघाट कार्यक्रम आयोजना गरिनेछ भने फागुन १८ गते सोमबार अन्तिम चरणका भेटघाट कार्यक्रम सञ्चालन हुने एमाले रामेछापले जनाएको छ। एमालेले गाउँ–गाउँमा प्रत्यक्ष संवाद, जनभेटघाट र कोणसभामार्फत पार्टीका एजेन्डा तथा उम्मेदवार ढुंगेलका प्रतिबद्धता मतदातासमक्ष प्रस्तुत गरिरहेको छ । निर्वाचन मिति नजिकिँदै जाँदा रामेछापको राजनीतिक चहलपहल दिनानुदिन बढ्दै गएसँगै उम्मेदवार ढुंगेलप्रति मतदाताको विश्वास पनि बढिरहेको एमाले रामेछापले जनाएको छ ।