रामेछाप । नेकपा एमाले रामेछापबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधव ढुंगेलले मन्थली नगरपालिकाका विभिन्न वडामा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट, छलफल तथा अन्तरक्रिया गर्दै आफ्ना एजेन्डा प्रस्तुत गर्नुभएको छ। निर्वाचन मिति नजिकिँदै जाँदा उहाँले जनसम्पर्क अभियानलाई तीव्र बनाउँदै गाउँ–गाउँमा प्रत्यक्ष संवादलाई प्राथमिकता दिनुभएको हो।
निर्वाचन अभियानअन्तर्गत बिहीबार उम्मेदवार ढुंगेलले मन्थली नगरपालिका वडा नं ११ र १२ का स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्नुभएको थियो। सो अवसरमा स्थानीय विकासका प्राथमिकता, पूर्वाधार विस्तार, रोजगारी सिर्जना तथा आगामी योजनाका विषयमा विस्तृत छलफल भएको थियो।
कार्यक्रमअन्तर्गत मन्थली नगरपालिका वडा नं १२ को पशुपति डाँडामा कोणसभा समेत आयोजना गरिएको थियो। कोणसभामा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो। सो अवसरमा उम्मेदवार ढुंगेलले स्थानीयको उत्साहजनक सहभागिताले यस पटक रामेछापमा नेकपा एमालेप्रति जनताको विश्वास र समर्थन स्पष्ट देखिएको बताउनुभयो। उहाँले आगामी निर्वाचनमा रामेछापबाट एमालेले जित हासिल गर्ने दाबीसमेत गर्नुभयो।
निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवार ढुंगेलले प्रत्यक्ष जनसम्पर्क अभियानलाई अझ प्रभावकारी बनाउँदै मतदातासँग निरन्तर संवाद गरिरहेको एमाले रामेछापका सचिव प्रकाश कुमार कार्कीले जानकारी दिनुभयो।
बिहीबार सम्पन्न घरदैलो तथा भेटघाट कार्यक्रममा मन्थली नगरपालिका वडा नं ११ र १२ का मतदाताहरूले यस निर्वाचनमा राष्ट्रिय पार्टी नेकपा एमालेका उम्मेदवार माधव ढुङ्गेललाई मत दिने प्रतिबद्धता जनाएका छन्। मतदाताहरूले अघिल्ला स्थानीय निर्वाचनमा अन्य पार्टीलाई मत दिएको भए पनि यस पटक राष्ट्रवादी शक्ति एमालेका उम्मेदवारलाई समर्थन गर्ने बताएका छन्। स्थानीय मतदाताहरूले नयाँ योजना भन्दा पनि अधुरा रहेका विकासका कामहरू पूर्णता दिनुपर्ने आवश्यकता औँल्याउँदै त्यसतर्फ उम्मेदवार ढुंगेलको ध्यानाकर्षण गराएका छन्।