मन्थलीमा ल्होछार कार्यक्रम भव्य रूपमा सम्पन्न

  • प्रकाशित मिति: सोमबार, माघ ५ २०८२
  • तामाकोशी

मन्थली । मन्जुश्री संवत् २८६२ औं तामाङ ल्हो (घोडा वर्ष) सोनाम ल्होछारको अवसरमा आयोजना गरिएको ल्होछार शुभकामना आदान–प्रदान तथा पूजापाठ कार्यक्रम सोमबार भव्य रूपमा सम्पन्न भएको छ।
“हाम्रो ल्होछार हाम्रो शान, भाषा, धर्म र संस्कृति हाम्रो पहिचान” भन्ने मूल नाराका साथ ल्होछार मूल समारोह समिति, मन्थली–रामेछापको आयोजनामा मन्थली तामाङ गुम्बा परिसरमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा परम्परागत पूजापाठ, ल्होछार शुभकामना आदान–प्रदान तथा सांस्कृतिक गतिविधिहरू सहित सम्पन्न भएको थियो। कार्यक्रममा तामाङ समुदायको भाषा, धर्म र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा जोड दिइएको थियो।
कार्यक्रममा स्थानीय अगुवा, समाजसेवी, बुद्धिजीवी तथा तामाङ समुदायका उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले ल्होछारले आपसी एकता, सद्भाव र सामाजिक सहकार्यलाई मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए। आयोजक समितिले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्तित्व, संस्थाहरू तथा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेको छ।