रास्वपाबाट रामेछापमा डा. कृष्णहरि बुढाथोकी उम्मेदवार

  • प्रकाशित मिति: आइतबार, माघ ४ २०८२
  • तामाकोशी

रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अर्थशास्त्र विषयमा विद्यावारिधी गरेका डा. कृष्णहरि बुढाथोकीलाई रामेछापबाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनाएको छ । पार्टीले उच्च शैक्षिक योग्यता र लामो व्यावसायिक अनुभव भएका बुढाथोकीलाई उम्मेदवार चयन गरेको रास्वपा रामेछाप जिल्ला उपसभापति मोहन कार्कीले बताए ।

डा. बुढाथोकीले विभिन्न विषयमा मास्टर डिग्री हासिल गर्नुका साथै अर्थशास्त्रमा विद्यावारिधी गरेका छन् । उनीसँग बैंक तथा वित्तीय क्षेत्रमा २० वर्षभन्दा बढीको कार्यअनुभव छ । साथै वित्तीय क्षेत्रका समस्या पहिचान तथा समाधानका लागि अनुसन्धानमूलक कार्यमा समेत संलग्न रहँदै आएका छन् ।



डा. बुढाथोकीले विगत १० वर्षदेखि ‘रामेछाप विकास बहस’ कार्यक्रममार्फत जिल्लाको समृद्धिका लागि उद्यमशीलता, उत्पादन वृद्धि, बजारिकरण तथा शिक्षालाई सीपसँग जोड्ने अभियान सञ्चालन गर्दै आएका छन् । सामाजिक तथा शैक्षिक अभियन्ताको रूपमा उनको सक्रियता जिल्लामा परिचित छ । उनी रामेछाप–काठमाडौं सृजनशील समाज नेपालको संस्थापक अध्यक्ष तथा संयोजकका रूपमा सामाजिक र मानवीय सेवामा समेत योगदान दिँदै आएका छन् ।