रामेछाप, लिखुतामाकोशी गाउँपालिकाले गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा तथा चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिसम्म प्रवाह भएका सेवा–सुविधाको प्रभावकारिताबारे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। मङ्गलबार लिखुतामाकोशी गाउँपालिका–स्थित झट्टेश्वर माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा सार्वजनिक सेवा प्रवाहको अवस्था, चुनौती र सुधारका उपायबारे विस्तृत छलफल गरिएको हो।
सार्वजनिक सुनुवाइमा सेवाग्राहीहरूले गाउँपालिकाबाट प्रदान गरिने सेवामा समय लाग्ने, प्रक्रियागत जटिलता, सूचना प्रवाहको कमी जस्ता गुनासोहरु गरे। विशेषगरी सिफारिस, दर्ता, सामाजिक सुरक्षा भत्ता, योजना कार्यान्वयन र विकास निर्माणसम्बन्धी सेवामा थप सुधार आवश्यक रहेको सहभागीहरूको भनाइ थियो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष केशव महतले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र जवाफदेही बनाउनु स्थानीय सरकारको प्राथमिकता रहेको बताउनुभयो। उहाँले सुनुवाइमा उठेका गुनासा र सुझावलाई गम्भीरतापूर्वक लिई सेवा सुधारका लागि आवश्यक नीतिगत तथा व्यवहारिक सुधार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यसैगरी गाउँपालिका उपाध्यक्ष दिपा पाख्रिनले सेवाग्राहीमैत्री वातावरण निर्माण, महिला, ज्येष्ठ नागरिक तथा विपन्न वर्गको सेवामा पहुँच सुनिश्चित गर्न पालिका निरन्तर प्रयासरत रहेको बताउनुभयो।
कार्यक्रममा प्रशासकीय अधिकृत मातृकाप्रसाद दाहाल, विभागिय प्रमुखहरु, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, सञ्चारकर्मी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। यस किसिमका सार्वजनिक सुनुवाइ कार्यक्रमले सेवा प्रदायक र सेवाग्राहीबीच प्रत्यक्ष संवाद स्थापित गरी समस्या पहिचान र समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।