रामेछाप । मन्थली नगरपालिकामा स्थानीय उत्पादनको बजारीकरण र कृषकको व्यावसायिकता प्रवद्र्धन गर्ने उद्देश्यसहित दुई दिने नगरस्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला सम्पन्न भएको छ।
मन्थली–१ स्थित हाटेचौरमा आयोजित मेलाको शनिबार बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले उद्घाटन गरेका थिए भने आइतबार औपचारिक रूपमा समापन गरिएको हो।
समापन कार्यक्रममा बागमती प्रदेशसभा अन्तर्गत उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठले मेलाले स्थानीय कृषि उत्पादनको बजारीकरण, व्यावसायिकीकरण तथा यान्त्रिकीकरणमा थप टेवा पु¥याएको बताए।
उनले यस्ता मेलाले कृषक र उद्यमीलाई प्रत्यक्ष बजारसँग जोड्ने अवसर सिर्जना गर्ने उल्लेख गरे। नगर प्रमुख लव श्रेष्ठले आम्दानीका स्रोत विस्तार, कृषि पर्यटन प्रवद्र्धन तथा स्वरोजगार सिर्जनाको उद्देश्यले नगरपालिकाले गत वर्षदेखि निरन्तर रूपमा मेला आयोजना गर्दै आएको बताए। मेलामार्फत नगरभित्र उत्पादित कृषि, पशु तथा लघु उद्यमका सामग्रीको प्रवद्र्धन भई बजार विस्तारमा सहयोग पुगेको उनको विश्वास छ।
मन्थली नगरपालिका–१३ का वडा अध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक नवराज थापामगरका अनुसार मेलामा तरकारी, फलफूल तथा नर्सरी, कृषि बाली, पशुपन्छी र लघु उद्यमसम्बन्धी ५० भन्दा बढी स्टल राखिएका थिए। सहभागी कृषक तथा उद्यमीलाई निःशुल्क स्टल, आवास, भोजन र सामग्री ढुवानीमा सहुलियत प्रदान गरिएको थियो।
मेलामा सहभागीमध्ये विभिन्न विधामा उत्कृष्ट कृषक तथा उद्यमीलाई जनही ६ हजार ७ सय रुपैयाँका दरले पुरस्कृत गरिएको छ। साथै, मेला सफल बनाउन सहयोग गर्ने विभिन्न संघसंस्था तथा निकायलाई कदरपत्र प्रदान गरिएको आयोजकले जनाएको छ। स्थानीय उत्पादनलाई बजारसँग जोड्ने र कृषकलाई व्यावसायिक बन्न उत्प्रेरित गर्ने उद्देश्यमा केन्द्रित मन्थलीको यो मेला सफल र प्रभावकारी बनेको सरोकारवालाले बताएका छन्।