रामेछाप कांग्रेसको बहुमत प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा

  • प्रकाशित मिति: शुक्रबार, पुष २५ २०८२
  • तामाकोशी

रामेछाप । नेपाली कांग्रेसभित्र २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित माग गरेको विशेष महाधिवेशनलाई लिएर रामेछाप जिल्लाबाट स्पष्ट र सशक्त समर्थन देखिएको छ। मागकर्ताहरूले पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गर्ने तयारी गरिरहेका छन्।

विधानअनुसार विशेष महाधिवेशन माग गरेको तीन महिनाभित्र केन्द्रीय समितिले बोलाउनुपर्ने व्यवस्था भए पनि त्यसो नगरेको आरोप लगाउँदै उनीहरूले पुस २३ गते आफैं विशेष महाधिवेशन आह्वान गरेका हुन्। उक्त आह्वानमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले ऐक्यबद्धता जनाइसकेका छन्।



विशेष महाधिवेशन पक्षधर नेताहरूका अनुसार रामेछापबाट चयन भएका २८ जना महाधिवेशन प्रतिनिधिमध्ये २१ जना विशेष महाधिवेशनको पक्षमा रहेका छन्। नेपाली कांग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले १७ जना प्रतिनिधिले विशेष महाधिवेशनको पक्ष्मा औपचारिक रूपमा हस्ताक्षर गरेको बताए । उनका अनुसार अन्य ४ जना प्रतिनिधि पनि पक्षमा रहेकाले समर्थन संख्या अझ बढ्ने देखिएको छ।

दुई नगरपालिका र छ गाउँपालिका अन्तर्गत ६४ वडाहरू रहेको रामेछाप जिल्लामा नेपाली कांग्रेसका ११ हजारभन्दा बढी क्रियाशील सदस्य छन्। जिल्लास्तरमै विशेष महाधिवेशनको माग बलियो बन्दै गएको कांग्रेस नेताहरूको भनाइ छ।

उपसभापति कार्कीले आफू सहित पार्टीका बहुमत पदाधिकारी विशेष महाधिवेशनको पक्षमा खुलेर लागिसकेको स्पष्ट पार्दै यसले पार्टीलाई विधि र प्रक्रियामार्फत थप सुदृढ बनाउने विश्वास व्यक्त गरे। विशेष महाधिवेशन सफल बनाउन रामेछापका २० भन्दा बढी महाधिवेशन प्रतिनिधि तथा नेताहरू काठमाडौंमा सक्रिय रहेको र जिल्लाबाट थप नेताहरू शनिबार काठमाडौं जाने तयारीमा रहेको उनले बताए।