रामेछाप- लिखु तामाकोशी गाउँपालिकाले आयोजना गरेको चौथो राष्ट्रपति रनिङ शिल्ड झट्टेश्वर माध्यमिक विद्यालय, धोबीले उचालेको छ। विद्यालयले २९ स्वर्ण, १९ रजत र २० कास्य गरी कुल ६८ पदक जित्दै उत्कृष्ट प्रदर्शन प्रस्तुत गरेको हो।
उत्कृष्टताका आधारमा झट्टेश्वर माविले रनिङ शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्रसँगै नगद ३० हजार पुरस्कार प्राप्त गर्यो।
दोस्रो स्थानमा चण्डेश्वरी मावी, सैपु रह्यो। विद्यालयले १५ स्वर्ण, १५ रजत र १४ कास्य गरी ४४ पदक हात पार्दै प्रमाणपत्रसहित २० हजार नगद प्राप्त गर्यो।
तेस्रो स्थानमा अरुणोदय मावी, सैपु पुगेको छ। विद्यालयले ११ स्वर्ण, १३ रजत र १३ कास्य मिलाएर ३७ पदक जित्दै १५ हजार नगद तथा प्रमाणपत्र प्राप्त गर्यो।
सान्त्वना स्थानमा त्रिपुरेश्वर मावी, दुर्गागाउँ रह्यो। विद्यालयले ३ स्वर्ण, ४ रजत र ६ कास्य गरी १३ पदक जित्दै १० हजार नगद पुरस्कार हात पार्न सफल भयो।
अन्य विद्यालयहरूको पदक विवरण यसप्रकार छः
तामाकोशी ज.जा. मावी, खिम्ती — २ स्वर्ण, ४ रजत, १२ कास्य
भृङ्गेश्वर मावी, धारापानी — २ स्वर्ण, ४ रजत, ६ कास्य
भृङ्गेश्वर मावी, कोटगाउँ — २ स्वर्ण, १ कास्य
नवदर्शन मावी, तिलपुङ — १ स्वर्ण, ६ रजत, १३ कास्य
बुद्ध जनप्रिय मावी, नागदह — १ स्वर्ण, १ कास्य
मावी ज्यामिरेखानी, खिम्ती — १ रजत, ४ कास्य
भृक्षेश्वर मावी, खोल्मागाउँ — यस वर्ष कुनै पदक हासिल गर्न सकेन।
समापन समारोह बिहीबार झट्टेश्वर माविको खेलमैदानमा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्का कार्की, गाउँपालिका अध्यक्ष केशव महत, उपाध्यक्ष दीपा पाख्रीन, गाउँ खेलकुद विकास समितिका अध्यक्ष सुसियल तामाङ सहितका विशिष्ट व्यक्तिहरूले विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए।
गाउँपालिकाका ११ विद्यालयका खेलाडीहरूले सोमबारदेखि ६६ विधामा प्रतिस्पर्धा गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। विद्यालयस्तरमै प्रतिभा पहिचान गरी सक्षम खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रामसिंह डडालले जानकारी दिए।
प्रतियोगिताले गाउँपालिकामा विद्यालयस्तरको खेलकुद विकासलाई थप गति मिलेको आयोजकले जनाएको छ।