११ औँ राष्ट्रिय महाधिवेशनका लागि रामेछाप एमालेले अझै प्रतिनिधि चयन गर्न सकेन

  • प्रकाशित मिति: शनिबार, मंसिर १३ २०८२
  • तामाकोशी

रामेछाप । यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि रामेछापबाट अहिलेसम्म एक जना पनि प्रतिनिधि छानिन सकेका छैनन् ।

जिल्लाबाट उत्पीडित वर्ग १, महिला ४, ४० वर्षमुनिका १ र खुला ६ गरी कुल १२ जनामात्र चयन गरिनुपर्ने भए पनि १२ सिटका लागि ६७ जनाको उम्मेदवारी परेपछि जिल्लाभित्रको आन्तरिक राजनीति तातेको छ।
उम्मेदवारबिच सहमति जुटाउन कार्यदलले ठुलो कसरत गरिरहे पनि निष्कर्षमा पुग्न सकेको छैन। सुरुमा ९ सदस्यीय रहेको कार्यदललाई घटाएर अहिले ४ सदस्यमा सीमित गरिएको छ।



पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज कमल चौलागाईँ, केन्द्रीय सदस्य माधव ढुङ्गेल, केन्द्रीय सदस्य गीता कार्की र जिल्ला अध्यक्ष पुरुषोत्तम कडरियाको कार्यदलले प्रतिनिधिको नाम टुङ्ग्याउने जिम्मेवारी पाएको छ।
गत कात्तिक १५ गतेको केन्द्रीय सचिवालय बैठकले शनिवार प्रतिनिधि छनोट सक्न निर्देशन दिएको थियो। तर शनिवार साँझसम्म कुनै पनि कोटाबाट नाम टुङ्गो लाग्न नसकेको एमाले रामेछापका प्रचार तथा प्रकाशन विभाग प्रमुख राकेश श्रेष्ठले जानकारी दिए।

उनका अनुसार कार्यदलले सबै पालिकाको प्रतिनिधित्व हुने गरी प्रतिनिधि चयनको प्रयास गरिरहेको छ ।
प्रतिनिधि छनोटका लागि कमल चौलागाईँको संयोजकत्वमा बनेको कार्यदलले गरेको निर्णयलाई मान्ने सहमतिमा धेरै उम्मेदवारले हस्ताक्षर गरिसकेका छन्। तर केही उम्मेदवारले भने कार्यदलको निर्णयलाई ‘जस्ताको तस्तै’ स्वीकार गर्न नसकिने भन्दै हस्ताक्षर गर्न अस्वीकार गरेका छन्। अहिले पनि कार्यदल निरन्तर छलफलमै जुटिरहेको एमाले रामेछापले जनाएको छ ।