शिक्षणसँगै कृषि उद्यमः दिलबहादुर आछामीको आम्दानी दिलाउने कृषि यात्रा

  • प्रकाशित मिति: शनिबार, मंसिर १३ २०८२
  • तामाकोशी

रामेछाप । रामेछापको मन्थली नगरपालिका–७ भटौलीका ४० वर्षीय दिलबहादुर आछामी केवल एक शिक्षक मात्र होइनन् । श्रम, समर्पण र सिकाइको उपयोग गरेर गाउँमै सम्भावना सिर्जना गर्ने प्रेरणादायी नाम पनि हुन्।

मन्थली नगरपालिका–९ पुरागाउँस्थित स्थानापति माविमा सामाजिक विषयका शिक्षक रहेका उनले विद्यालयबाहेकको समय खाली नछाडेर आफ्नै घर वरिपरि कृषिमा भविष्य खोज्ने निर्णय गरे।



२०८० सालबाट व्यावसायिक रूपमा थालिएको ड्राइगन फ्रुट खेती आज दिलबहादुर आछामीको पहिचान बनेको छ। घर वरिपरि १ सय पोलमा ४ सय ड्राइगनका बोट, साथै आँप, अनार, कागती, केरा, कुरिलो, भूइँकटहर लगायतका फलफूलले एक समय सुख्खा ग्रस्त देखिने बारी आज हरियाली बगैँचामा बदलिएको छ ।
पहिलो वर्ष उत्पादन मनासिब नभए पनि यस वर्ष भने आछामीको मेहनतले रङ्ग देखायो। बारीमै उत्पादन भएको ९ सय किलोभन्दा बढी ड्राइगन फ्रुट प्रति किलो ३०० रुपैयाँमा बिक्री हुँदा २ लाख ७० हजार रुपैयाँभन्दा बढी आम्दानी भयो। उनले अन्य फलफूलबाट पनि आम्दानी लिन थालिसकेका छन् ।

“सुख्खा र पानीको अभाव हुने हाम्रो गाउँमा कृषि सजिलो छैन, तर निरन्तरता र लगन भए सम्भव हुने रहेछ,” आछामी भन्छन्। अहिले उनमा आफ्नै गाउँमा कृषिमा स्वरोजगार बन्न सकिने रहेछ भन्ने विश्वास बढेको छ । उनको बगैँचामा २५ भन्दा बढी जातका आँप, मौरी पालन, विभिन्न फलफूल तथा तरकारी उत्पादनसहित बहुउपयोगी कृषि फार्म जस्तै बनेको छ। यही विविधीकृत कृषि प्रणाली अहिले उनको परिवारको घरायसी आम्दानीको मुख्य आधार पनि बनिरहेको छ।
शिक्षक सँगै कृषिमा पनि सफलता मिल्दै जानुमा उनकी जीवनसाथी सरिता कुमारी रम्तेलको भूमिका महत्त्वपूर्ण छ। श्रीमानको योजना र सिकाइअनुसार कृषि कार्यमा साथ दिँदै सरिताले उजाडजस्तै बारीलाई आज हरियाली बगैँचा बनाउने यात्रामा अग्रसर भइन्। सरिताको शब्दमा, “राम्रो योजना, निरन्तर मिहिनेत र आवश्यक ज्ञान भए गाउँमै कृषि बाटै स्वरोजगार बन्न सकिन्छ।”सुख्खा ग्रस्त गाउँ भए पनि जागरूकता, सीप र निरन्तरता भए कृषिबाटै आत्मनिर्भर बन्न सकिने उनको अनुभव छ ।