रामेछाप–नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि बन्न रामेछापमा ६७ जनाले मनोनयन दर्ता गराएका छन्। पार्टी जिल्ला निर्वाचन कमिटीले सोमबार सार्वजनिक गरेको कार्यतालिका अनुसार मङ्गलवार दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता भएको हो।
आगामी मंसिर २७ देखि २९ गते काठमाडौँमा हुने महाधिवेशनका लागि रामेछापबाट कुल १२ जना प्रतिनिधि चयन हुनेछन्। जिल्ला निर्वाचन कमिटीका अनुसार ती १२ सिटमध्ये उत्पीडित वर्ग १, महिला ४, ४० वर्षमुनिका युवा १ र खुलातर्फ ६ जना चयन हुनेछन्।
निर्वाचन कार्यतालिका अनुसार मंसिर १० गते दाबी–विरोध तथा छानबिन प्रक्रिया हुनेछ। मंसिर ११ गते अन्तिम नामावली प्रकाशित गरिने छ भने मंसिर १३ गते बिहान ७ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ। ६७ उम्मेदवारबिच १२ सिटको प्रतिस्पर्धा चर्किँदै जाँदा जिल्लाभित्र आन्तरिक राजनीतिसमेत तातेको छ।
रामेछापमा एमाले महाधिवेशन प्रतिनिधिका लागि ६७ दाबेदार
- प्रकाशित मिति: मंगलबार, मंसिर ९ २०८२
- तामाकोशी