रामेछापको मन्थली नगरपालिका कृषि बिकास उपशाखा प्रमुख तथा सहायक कृषि अर्थ विज्ञ यौवन कुमार सुनुवारले अधिकांश कृषकहरू अहिले पनि परम्परागत कृषि प्रणालीमा रहेको बताउनुभएको छ । आधुनिकीकरण भन्नले हाते ट्याक्टर मात्र प्रयोग भएको उहाँको भनाइ छ ।
प्रस्तुत छ¸ मन्थली नगरपालिकाका कृषि विकास उपशाखा प्रमुख तथा सहायक कृषि अर्थ विज्ञ यौवन कुमार सुनुवारसँग गरिएको कुराकानीको सम्पादित अंश…
धान उत्पादनका हिसाबले यस वर्ष कस्तो हुने देखिन्छ ?
यस पालिको मौसम र किसानको प्रतिक्रिया हेर्दा धान उत्पादन बढ्ने देखिन्छ । किन भने कतिपय अवस्थामा किसानसँग हामी आफैले बुझ्ने गरेका छौ । कारण वश हाम्रो ध्यान गएन भने किसानहरू आफै गुनासो लिएर आउने गर्नु हुन्छ । यस पालि गुनासो र धान खेतीका बारेमा समस्या खासै आएका छैन । त्यस कारण धानको उत्पादन बढ्ने आकलन गर्न सकिन्छ ।
अहिलेको अवस्थामा कृषकहरूले के कस्तो समस्या भोग्नु परेको छ ?
अहिले कृषकहरू बढी मात्रमा रासायनिक मलको प्रयोग गर्नु हुन्छ भने बिउँ पनि हाइव्रिट प्रयोग गर्नु हुन्छ । हाइव्रिट बिउँको राम्रो उत्पादन लिनका लागि मल पर्याप्त चाहिन्छ । रासाइनिक मल भन्नाले हाम्रो कृषकले अहिले युरिया भन्ने बुझ्नु पर्छ । प्राङ्गारिक मल¸युरिया¸ डिएपि र पोटास मलको मात्रा राम्रो मिलाएर लाउन सके उत्पादन राम्रो हुन्छ । तर अहिले अनुदानमा मात्र आएको मल त्यसका लागि पर्याप्त छैन ।
भने अर्को ती तरकारी ख्यातिमा पनि युरिया मलको प्रयोग भएको छ । हाम्रा उत्पादनले तराईका उत्पादनसँग प्रतिस्पर्धा गर्नु पर्ने अवस्था छ । हामीले हाम्रा उपभोक्तालाई बुझाउन सकेका छैन । यसले हामीले बैकल्पिक बजारको खोजी गर्नु पर्ने पनि अवस्था छ ।
उत्पादन वृद्धिका लागि कृषिमा आधुनिकीकरण अपनाउने कृषकको अवस्था कस्तो छ ?
हाम्रा अधिकांश कृषकहरू अहिले पनि परम्परागत तरिकाले कृषि गरी रहनु भएको छ । आधुनिकीकरण भन्नले हाते ट्याक्टर मात्र प्रयोग भएको पाइन्छ । सिँचाइको लागि भने सामान्य काम मात्र कृषि शाखाले गरेको हुन्छ । जस्तै थोपा सिँचाई । अन्य अलि ठुला खाले योजना पूर्वाधार लगाएताका शाखाका जिम्मेवारी हुन्छ । यसका लागि पनि पालिका र वडा कार्यालय स्तरबाट पनि काम भई रहेको हुन्छ ।
कृषिमा आधुनिकीकरणको अर्थ लगानी हो । सुरुमा लगानी बढी लाग्ने हुन्छ । त्यहाँ संरचना देखि प्रविधिमा समेत राम्रो नै लगानीको आवश्यक हुन्छ तर हाम्रा कृषकको अवस्था प्रशस्त लगानी गर्ने छैन । लगानी गर्न सक्ने कृषक पनि उत्पादन पश्चात् बजारीकरणका समस्यालाई लिएर डराएका पाउँछौँ । र यस्तो खाले कृषिका लागि अनुदान मात्रबाट पनि सम्भव हुन्न । यसका लागि कृषि ऋण र बिमा पनि व्यवस्था गर्न सकिएको छैन । अर्को कुरा हाम्रोमा कृषि मजदुरको पनि अभाव छ ।
कृषिमा युवाहरूलाई आकर्षण गर्न नगरपालिकाले के कस्ता योजना बनाएको छ ?
यसका लागि मन्थली नगरपालिका पकेटका कार्यक्रम सञ्चालन गरेको थियो । यो कार्यक्रमका लागि नगरले आफ्नै बजेट विनियोजन गरेको थियो भने सङ्घीय सशर्त अनुदान पनि प्राप्त भएको थियो । यसमा मुख्य गरी आम्दानी र दिगोपनलाई प्राथमिकतामा राखेर कार्यक्रमहरू गर्ने योजना बनाएका थियौँ । जसमा नगदे बालीलाई फोकस गरिएको थियो ।
यसमा मुख्य समस्या के छ भने कृषि अनुदानका लागि कृषकहरू प्यान दर्ता भएको¸ समूह सहकारीमा आबद्ध भएको हुनु पर्ने छ । तर हाम्रा कृषकहरू अधिकांश समूहमा हुनुहुन्न यसले कतिपय अवस्थामा समस्या बनाएको छ । अर्को युवाहरूलाई समेट्ने गरी पनि हाम्रो कार्यक्रम थियो गत वर्ष । खास गरी वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई कृषिमा समेट्ने गरी प्रस्ताव आह्वान गरिएको थियो । तर सोचे अनुसार प्रस्ताव पत्र आएन । पछि ठ्याक्कै त्यस्तो त हैन । नेपाल बस्ने युवाहरूका लागि समेट्ने गरी उनीहरूको आय आर्जनमा वृद्धि गर्नु पर्छ भनेर पकेटका कार्यक्रमहरू गरेका थियौ । मन्थली नगरपालिकाका करिब १२ वडामा कार्यक्रम गरेका थियौँ । पछि यो कार्यक्रमले निरन्तरता पाएन ।
आय आर्जनका कार्यक्रम अन्तरगत च्याउ खेती पनि गरेका थियौ । यसको प्रतिफल चाहिँ राम्रो भएको छ । उत्पादन गर्ने कृषक खुसी नै हुनुहुन्छ । मन्थली नगरपालिकाका कतिपय स्थान फलफूल र अमिलो जात फलफूलको पनि राम्रो संभावना भएकाले यसलाई पनि आय आर्जनका कार्यक्रममा प्राथमिकताका साथ समेटेका छौँ ।
कृषिमा महिलाको भूमिका र सक्रियता कस्तो छ ?
यसमा चाहिँ के छ भने तालिम वा अन्य केही भन्यो भने महिलाको सहभागिता हुन्छ¸ देखिन्छ । तर अधिकाधिक र नीतिगत ठाउँमा महिलाको सहभागिता न्यून रहेको छ । उदाहरणका लागि हाम्रो कृषि समूह दर्ताका लागि कृषकहरू आउनु हुन्छ तर त्यहाँ महिलाको पाउन निकै गाह्रो हुने गरेको छ ।
यस्तै हामीले हेफर परियोजनासँगको सहकार्यमा लागत साझेदारी कार्यक्रम गरेका थियौँ । त्यहाँ भने महिलाको सहभागिता राम्रो थियो । उसको नीति नै त्यस्तो भएकाले । हामीले नीतिमा महिला पदाधिकारी अनिवार्य गरेका छौ । तर उहाँहरू उस्तैबाट सेट अप मिलाएर आउनु हुन्छ महिलाको सहभागिता हुन्छ तर हालीमुहालीमा पुरुष हुनुहुन्छ । तर नगरपालिकाले महिला लक्षित गरेर प्लास्टिक घरको कार्यक्रम ल्याएको थियो । अहिले त्यो राम्रो भएको छ र प्रतिफल पनि राम्रो दिएको पाएका छौँ ।
चालु आर्थिक वर्षमा मन्थली नगरपालिकाले सञ्चालन गर्नु मुख्य मुख्य कार्यक्रमहरू के के छन् ?
यस वर्ष मन्थली नगरपालिकाले वडासँगको लागत साझेदारीमा नर्सरी बनाउने भनेर कार्यक्रम राखेको छ । यो सबै वडामा लागु हुन्छ । यसले तरकारी उत्पादनमा सहयोग पुर्याउने छ । तरकारी खेतमा कृषकलाई प्रोत्साहन गर्ने छ । यसले कृषकहरूलाई सहुलियत दरमा बिरुवा वितरण गर्ने छ । यसले उत्पादनमा सहयोग गर्छ भन्ने हो ।
अर्को चाहिँ यस वर्ष हामीले कृषि यान्त्रीकरणमा पनि अनुदानको कार्यक्रम राखेका छौ । गएका ३ वर्ष हाम्रो यान्त्रीकरण करणमा अनुदान थिएन । अन्य निकायमा भएका कारणले तर यस पाला माग धेरै भएकाले राखेका छौ । गत वर्ष देखि सुरु गरेको कृषि मेलालाई यो वर्ष पनि राखेका छौँ । यसले चाहिँ हामी कृषिमा लगाउने गर्ने तर देखिन्न थियो । त्यो देखाउन¸ किसानको पहिचान गर्न सहयोग पुगेको छ र बजारीकरणमा सहयोग पुगेको छ । हाम्रो नगरमा भएको कोल्ड स्टोर सञ्चालनका लागि बजेट प्राप्त भएको छ ।
विशेष गरी सङ्घीय सशर्त अनुदानका केही कार्यक्रम रहेका छन् । जस्तै पकेट विकासका कार्यक्रमहरू रहेका छन् । यस वर्ष हामी तरकारी पकेट क्षेत्र कार्यक्रमहरू सञ्चालन गर्दै छौँ । यसको लागि सूचना निकालेका छौँ । खाद्यान्न बालिका लागि गहुँ पकेट क्षेत्र माग गरेकोमा यसको सबै काम सकिएको छ । अब वितरणको काम बाकिँ रहेको छ । धान र मकैको लागि हामी केही समय पश्चात् सूचना निकाल्छौ । र अर्को चाहिँ सङ्घीय संरचना अनुसार किसान सूचीकरणको काम पनि यस वर्ष सक्ने भन्ने छ । यसले अनुदान वितरण गर्दा दोहोरो लिने क्रममा नियन्त्रण गर्न सकिन्छ ।
त्यस्तै प्रदेश तर्फको सशर्त अनुदानमा नगरसँगको ३० प्रतिशत साझेदारीमा सूचना र प्रविधिमा आधारित कृषि उपज बजार केन्द्रको स्थापना स्थापना गर्ने भनिएको छ । यसको कार्यविधि पास भएर आए पश्चात् तत्कालै कार्यान्वयन गर्छौँ । यसले उत्पादन पश्चताको बजारी करणमा भएको समस्याको सावधान गर्छ । सित भण्डारको थप संरचना निर्माणका लागि प्रदेश सरकारबाट बजेट आएको छ । कार्यविधि आए पश्चता त्यो काम पनि हुने छ । केही कार्यक्रम हुँदै छन्¸केही कार्यक्रमको कार्यविधि आएको छैन भने केही कार्यक्रमको यही पनि कार्यविधि बन्ने चरणमा रहेको छ ।
नगरपालिकाले कस्ता क्षेत्रमा अनुदान दिँदै आएको छ र अनुदान पछिको उत्पादनको अवस्था कस्तो छ ?
बढि मात्रामा नगरपालिका पकेटका कार्यक्रममा फोकस भएका थियौँ । जस्तो बिउँ पुजी र उत्पादनमा आवश्यक पर्ने समानमा ५० प्रतिशत अनुदान थिए । नयाँ बगैँचा स्थापन¸ उन्नत जातका बिउँ विजन वितरण गरेऊँ । यसले उत्पादनमा बढेको छ भने बजारीकरणमा पनि सहयोग पुगेको । अर्को चाहिँ गत दुई वर्ष देखि प्लास्टिकमा उत्पादन भएका गोलभेडालाई प्रति केजी १ रुपैयाँ अनुदान दिएका थियौँ । यसलाई यो वर्ष पनि निरन्तरता दिने भनेका छौँ ।