रामेछाप । नेकपा एमाले रामेछापले आगलागीबाट घरसहित सम्पूर्ण सम्पत्ति नष्ट भएका रामेछाप नगरपालिका–३ साघुटार, लक्ष्मिबासका ठेट बहादुर महतलाई ८० हजार ६०० रुपैयाँ सहयोग रकम प्रदान गरेको छ ।
मङ्गलवार एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरिया, उपाध्यक्ष होतराज ढकाल, सचिव प्रकाश कुमार कार्की तथा रामेछाप नगर र वडा कमिटीका नेताहरू पीडितको घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन्।
पीडितको घरमा गत शनिवार राति आगलागी हुँदा सम्पूर्ण सम्पत्ति नष्ट गरेको थियो।
यो विपद्को अवस्थामा नेकपा (एमाले) रामेछाप जिल्ला कमिटी, नगर कमिटी, नेता–कार्यकर्ता, शुभेच्छुक र शुभचिन्तकहरूद्वारा संयुक्त रूपमा सङ्कलित सहयोग रकम सहित आवश्यक सामग्री राहतका रूपमा प्रदान गरिएको एमाले रामेछाप नगर कमिटीका सचिव माधव ढकालले बताए ।
उनले भने, “हामी विपत्तिमा परेका परिवारसँग सधैँ खट्न तयार छौँ र आवश्यक सहयोग पु¥याउने छौँ।”
गत शनिवार राति १० बजे फ्रिजमा जोडिएको विद्युत् लाइन सर्ट भई आगलागी हुँदा भूकम्पपछि पुनर्निर्माण गरिएको जस्ताको छानो भएको तीन कोठे घर सहित घरभित्रका सबै सामान पूर्ण रूपमा नष्ट भएको थियो । आगलागीबाट घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, समूहको सामग्रीसहित सबै सम्पत्ति खरानी भएको थियो ।