रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले अब गाउँमै लोकसेवा तथा शिक्षक सेवा आयोग तयारी कक्षा सञ्चालन गर्ने भएको छ।
गाउँपालिकाका उपाध्यक्ष सावित्री सुनुवारका अनुसार, अन्य स्थानमा महँगो शुल्क तिरेर कक्षा लिनुपर्ने बाध्यतालाई ध्यानमा राखेर स्थानीय युवालाई सहज पहुँच दिन यो कदम चालिएको हो।
उपाध्यक्ष सुनुवारले भनिन्, “सरकारी सेवामा प्रवेशको इच्छा र क्षमता भएका युवालाई कक्षा दिएर सफल बनाई आफ्नो लक्ष्य हासिल गर्न सघाउने उद्देश्यले गाउँपालिकाले यो कार्यक्रम ल्याएको हो। यसले परीक्षामा तयारी र सफलतामा ठुलो सहयोग पुग्नेछ।”
गाउँपालिकाले यस कार्यक्रमका लागि चालु आर्थिक वर्ष २०८२÷०८३ मा पाँच लाख रुपैयाँको बजेट विनियोजन गरेको छ। कक्षा सञ्चालनपछि गाउँका इच्छुक युवाले आफ्नै गाउँमै गुणस्तरीय तयारी पाउने विश्वास गाउँपालिकाले लिएको छ ।