रामेछाप । निरन्तर वर्षाका कारण रामेछापको मन्थली–लुक्ला उडान ठप्प भएपछि सोलुखुम्बुको सगरमाथा क्षेत्र भ्रमणमा आएका सयौँ पर्यटक मन्थलीमै रोकिएका छन्।
शनिवार बिहानदेखि लगातारको वर्षाले मौसम खराब हुँदा एक पटक पनि उडान सञ्चालन हुन सकेको छैन। नागरिक उड्डयन कार्यालय मन्थलीका अनुसार तारा, समिट र सीता एयरले मन्थली विमानस्थलबाट पर्यटकलाई लुक्ला पठाउने र ल्याउने गर्दै आएका छन्। तर मौसमका कारण हालसम्म २५ भन्दा बढी उडान अवरुद्ध भएका छन्।
मन्थली विमान स्थलका प्रमुख अमित चौरसियाका अनुसार, “शनिवारदेखि मन्थली–लुक्ला उडान हुन सकेको छैन। हाल करिब १५० भन्दा बढी पर्यटक मन्थलीमै उडानको प्रतीक्षामा छन्,” उनले भने।
जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबारसम्म मौसम सुधार नहुने सम्भावना रहेको छ। त्यसपछि मात्र उडान सम्भव हुने अपेक्षा गरिएको विमान स्थलका प्रमुख चौरसियाको भनाइ छ ।
नागरिक उड्डयन प्राधिकरणले सगरमाथा क्षेत्र भ्रमणमा आएका पर्यटकलाई दुई सिजनमा मन्थली विमान स्थलको प्रयोग गरी गन्तव्यसम्म पु¥याउने गरेको छ ।
वसन्त ऋतुको सिजन चैतदेखि जेठसम्म र शरद ऋतुको असोज पहिलो सातादेखि मङ्सिरको १५ सम्म मन्थली विमानस्थलबाट लुक्ला उडान हुने गरेको छ । सिजनमा बिहानैदेखि मौसम राम्रो भएको समयमा एकै दिन ८५० जनासम्म पर्यटक मन्थलीकबाट लुक्ला पुग्ने गरेका छन् ।