संविधान र लोकतन्त्रको रक्षा गर्ने एमाले रामेछापको दृढ प्रतिबद्धता

  • प्रकाशित मिति: शुक्रबार, असोज ३ २०८२
  • तामाकोशी

रामेछाप । नेकपा एमाले रामेछाप जिल्ला कमिटीले संविधान दिवसको अवसरमा संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न दृढ प्रतिबद्धता व्यक्त गरेको छ ।

शुक्रवार सदरमुकाम मन्थलीमा भव्य रूपमा सम्पन्न ¥याली तथा भेलाले देश, संविधान र लोकतन्त्रविरुद्ध हुने कुनै पनि षड्यन्त्रको सामना गर्न एमाले अग्रपङ्तिमा रहने स्पष्ट घोषणा गरेको हो ।



जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षतामा सम्पन्न भेलामा पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज कमल प्रसाद चौलागाई, संगठन विभाग सचिव माधव ढुङ्गेल, केन्द्रीय सदस्य गीता कार्की, बागमती प्रदेश सचिवालय सदस्य शान्ति प्रसाद पौडेलसहित प्रदेशस्तरीय नेताहरूको विशेष उपस्थिति रहेको थियो । भेलामा प्रदेशदेखि वडा तहसम्मका नेता कार्यकर्ताको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

भेलाले हालै सम्पन्न जेन–जी आन्दोलनका क्रममा दिवङ्गत सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै, घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

साथै हिंसा र आगजनीबारे निष्पक्ष छानबिन गरी सत्य जनतामाझ ल्याउन जोडदार माग गरेको छ । संविधान, सार्वभौमसत्ता र राष्ट्रियताको पक्षमा कुनै पनि देशी–विदेशी दबाब नमान्ने अठोट गर्दै भेलाले एमाले मात्र यो देशलाई सङ्कटबाट निकाल्ने सक्षम शक्ति भएको दाबी गरेको छ ।

भेलापछि प्रचार तथा प्रकाशन विभाग प्रमुख राकेश श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तिमा जिल्ला कमिटीले सबै पालिका, वडा कमिटी र जनसंगठनलाई थप क्रियाशील बन्न निर्देशन दिँदै संविधान र लोकतन्त्रको पक्षमा सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र संघसंस्थालाई एउटै मोर्चामा उभिन आह्वानसमेत गरिएको छ ।