सामाजिक सद्भाव र राष्ट्रिय एकताको जर्गेना गर्न रामेछाप काँग्रेसको अपिल

  • प्रकाशित मिति: आइतबार, भाद्र २९ २०८२
  • तामाकोशी

रामेछाप । नेपाली काँग्रेस रामेछापले अहिलेको अवस्थामा धैर्यता सहित सामाजिक सद्भाव र राष्ट्रिय एकताको जर्गेना गर्न रामेछापवासीलाई अपिल गरेको छ ।

सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले आइतबार प्रेस विज्ञप्ति मार्फत आम नागरिक, पार्टीका नेता–कार्यकर्ता तथा युवा–युवतीलाई धैर्य राखी सामाजिक सद्भाव र राष्ट्रिय एकताको जर्गेना गर्न अपिल गरेका हुन् ।



सभापति तामाङले भदौ २३ र २४ गते जेन्जी युवापुस्ताले गरेको आन्दोलनका क्रममा सहादत प्राप्त युवाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

तामाङले विज्ञप्तिमार्फत संघीय संसद् भवन, सर्वोच्च अदालत, सिंहदरबार, राष्ट्रपति कार्यालय, संवैधानिक निकाय, नेपाली काँग्रेस केन्द्रीय कार्यालय, ऐतिहासिक सम्पदा लगायतका संरचनामा भएको ठुलो क्षति र व्यक्तिगत धनजनको नोक्सानीप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

उनले नेपाली काँग्रेसले २००७ सालदेखि अघि सारेको लोकतन्त्र, राष्ट्रियता र समाजवादप्रति पुनः प्रतिबद्धता जनाउँदै झन्डै सात दशकपछि संविधानसभामार्फत निर्माण भएको नेपालको संविधान २०७२ अहिले सङ्कटमा परेको बताएका छन् । यस्तो अवस्थामा धैर्यताका साथ सामाजिक सद्भाव तथा राष्ट्रिय एकताको जर्गेना गर्नका साथै लोकतन्त्र, लोकतान्त्रिक संविधानको संरक्षण गर्न उनले आग्रह गरेका छन् ।