रामेछापमा बोलेरो दुर्घटना हुँदा ५ जना घाइते

  • प्रकाशित मिति: बिहिबार, भाद्र २६ २०८२
  • तामाकोशी

रामेछाप । रामेछापको लिखुतामाकोशी गाउँपालिका–६ खिम्तीस्थित छतिउने खोलामा बोलेरो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

गोकुलगंगा गाउँपालिका–६ फर्पुबाट मन्थलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२९ च ६३६० नम्बरको बोलेरो गाडी बिहीबार दिउँसो दुर्घटनामा परेको हो।



जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी सहायक निरीक्षक सुवास चन्द्र मण्डलका अनुसार दुर्घटनामा गोकुलगंगा–५ नामाडीका २२ वर्षीय चालक नोर्वु तामाङ, सोही वडाका ३७ वर्षीय साङ्गे तामाङ, फर्पु–६ का ४० वर्षीय सिंहबहादुर तामाङ, मन्थली नगरपालिका–१२ गेलुका ३५ वर्षीय रवि बुढाथोकी र दोलखाको तामाकोशी गाउँपालिका–३ छौडेकी ४६ वर्षीया मधु विश्वकर्मा घाइते भएका छन्।

घाइते सबैको उद्धार गरी सदरमुकाम मन्थलीस्थित तामाकोशी अस्पतालमा भर्ना गरिएको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।