भक्तिभाव र पर्यटनको संगम : एक सय आठ माने र शिव मूर्तिले चम्किएको सुनापति डाँडा

  • प्रकाशित मिति: आइतबार, भाद्र २२ २०८२
  • नवराज श्रेष्ठ

रामेछाप रामेछापको सुनापति गाउँपालिका–३, हिलेदेवीस्थित सुनापति डाँडामा तामाङ समुदायले आफन्तको सम्झनामा बनाउने परम्परागत लहरे माने अहिले आकर्षक स्वरूपमा देखिन्छ।

एउटै रङ र आकारमा बनेका १ सय ८ मानेहरूले डाँडोलाई धार्मिक मात्र होइन, सौन्दर्यले पनि सजाएको छ । त्यही डाँडाको तल्लो भागमा अवस्थित ३५ फिट अग्लो शिवको मूर्तिसहितको सुनापति महादेव मन्दिर छ ।  जहाँ पुग्न २ सय ६५ वटा सिँढी पार गर्नुपर्छ । यही महादेवको नामबाट गाउँपालिकाको नाम “सुनापति“ राखिएको हो।



सुनापति डाँडामा रहेको तामाङ समुदायको परम्परागत लहरे माने र विशाल शिव मूर्तिले पछिल्लो समय आन्तरिक पर्यटक लोभ्याउन थालेका छन् ।

“अग्लो सुनापति डाँडो धर्म, संस्कृति र पर्यटनको अद्भुत संगम हो,” स्थानीय जेबी विश्वकर्माले भने, “पूर्वाधार विकाससँगै यो क्षेत्र धार्मिक पर्यटनको गन्तव्य बन्दै गएको छ ।” उनका अनुसार, स्थानीय सरकारका पहल र लगानीका कारण पर्यटन पूर्वाधारमा सुधार भएसँगै यसको प्रत्यक्ष प्रभाव देखिन थालेको हो ।

२ हजार २५० मिटर उचाइमा अवस्थित सुनापति डाँडा प्राकृतिक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ । बौद्ध धर्मावलम्बीहरूको सांस्कृतिक भूमिका झल्काउने यस क्षेत्रले पछिल्लो समय हिन्दु तथा अन्य धर्मावलम्बी पर्यटक पनि आकर्षित गर्न थालेको विश्वकर्माको भनाइ छ ।

रामेछाप नगरपालिका–८ का विवेक घिमिरेले सुनापति डाँडाको अनुभव फरक रहेको बताए । उनका अनुसार, राजधानी काठमाडौँबाट धेरै टाढा नपर्ने र सदरमुकाम मन्थलीबाट करिब तीन घण्टाको सडक यात्रापछि सजिलै पुग्न सकिने भएकाले पर्यटकलाई सहज गन्तव्य बन्न थालेको हो । “सुनापति डाँडा विशेष गरी हिन्दु र बौद्ध धर्मावलम्बीका लागि महत्त्वपूर्ण रहेछ,” उनले भने, “यहाँ पुग्दा प्राकृतिक रमणीयताले छुट्टै आनन्द दिने रहेछ ।”

सुनापति गाउँपालिकाले पर्यटन पूर्वाधारलाई प्राथमिकता दिँदै करोडौँको लगानीमा नयाँ गन्तव्य निर्माण गरिरहेको छ । गाउँपालिकाको मर्याङग डाँडामा करिब ४० लाख रुपैयाँ लागतमा ५६ फिट अग्लो बुद्धको मूर्ति निर्माण गरिएको छ भने लामा टोलमा उस्तै बजेटमा पद्मसम्भवको भव्य मूर्ति स्थापना गरिएको छ । यी धार्मिक एवं सांस्कृतिक स्थलहरूलाई जोड्ने गरी १५ लाख रुपैयाँको लागतमा पर्यटन मार्ग पनि बनाइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष ठुलो कान्छा तामाङका अनुसार ग्रामीण पर्यटनलाई आर्थिक स्रोतको रूपमा विकास गर्ने दीर्घ योजना गाउँपालिकाले अघि सारेको छ । “हाम्रो गाउँपालिकामा पाँच वटा वडा छन्,” उनले भने, “यी सबै वडामा क्रमशः गौरवका योजनामार्फत धार्मिक तथा पर्यटकीय पूर्वाधार निर्माण भइरहेको छ ।”

गाउँपालिकाले हरेक आर्थिक वर्ष करिब १ करोड ५० लाखदेखि २ करोड रुपैयाँसम्मको गौरवका योजना सञ्चालन गर्दै आएको छ । सोही योजना अनुसार गत आर्थिक वर्ष २०८१÷८२ मा वडा नम्बर ३ मा पर्यटन पूर्वाधार विकासमा विशेष जोड दिइएको गाउँपालिका अध्यक्ष तामाङले बताए ।

सो अवधिमा मात्रै सुनापति डाँडामा ४० लाख रुपैयाँ लागतमा ३५ फिट अग्लो शिवको मूर्ति निर्माण गरिएको छ । यस्तै, २५ लाखमा एक सय आठ परम्परागत लहरे माने, १० लाखमा आकर्षक स्टेज र १५ लाखभन्दा बढीको लागतमा पर्यटन मार्ग बनाइएको छ । अध्यक्ष तामाङका अनसािर धार्मिक आस्था, सांस्कृतिक मौलिकता र पर्यटकीय सम्भावनाले भरिएको सुनापति डाँडा आधुनिक पूर्वाधारसँग जोडिँदै आकर्षक गन्तव्यका रूपमा विकसित हुँदै गएको छ ।