रामेछाप । रामेछापको मन्थली नगरपालिका–५, सुनारपानीका रामबहादुर शाहीको बारी अहिले हेर्ने जोकोही लोभिने बनेको छ । धेरै वर्ष बाँझो बसेका जमिनका पाटाहरू अहिले ड्रागन फ्रुटका हरियो बोट र राताम्य फलले ढाकिएका छन् ।
अत्यधिक सुख्खा जमिनका कारण लामो समयसम्म बाँझै बसेका सुनारपानीका धेरै बारी अहिले शाहीकै कारण नयाँ सम्भावनाको केन्द्र बन्न थालेको छ । २०५३ सालदेखि काठमाडौँमा नर्सरी व्यवसाय गर्दै आएका शाहीले झन्डै तीन दशकपछि गाउँ फर्केर कृषि उद्यम सुरु गरेका हुन् । राजधानीमै व्यवसाय स्थिर रहे पनि गाउँमै केही गर्नुपर्छ भन्ने सोच उनमा पलायो । “काठमाडौँमा नर्सरी अझै छ, तर गाउँमा सिप प्रयोग गर्दा राम्रो नतिजा आएको छ,” शाही भन्छन् ।
शाहीले ३ वर्षअघि भदौरे कालिका कृषि फर्म दर्ता गरेर बाँझो जमिनमा प्रयोग सुरु गरे । अहिले उनका बारीमा ८ सयभन्दा बढी ड्रागन फ्रुटका बोट छन् । पहिलो वर्षमै एक लाख रुपैयाँभन्दा बढी फल बिक्री भयो । हालसम्म दुई लाख रुपैयाँभन्दा बढी ड्रागन फ्रुट बेचिसकेका उनले यो वर्ष करिब ६ लाख रुपैयाँसम्म आम्दानी हुने अनुमान गरेका छन् ।
प्रति किलो ३३० रुपैयाँमा बारीमै बिक्री हुने ड्रागन फ्रुटले शाहीलाई मात्र होइन, गाउँका अन्य किसानलाई समेत उत्साहित बनाएको छ । ड्रागन फ्रुटसँगै शाहीले दुई वटा हाई टेक टनेल (प्लास्टिक घर) स्थापना गरेर बिरुवा उत्पादन सुरु गरिरहेका छन् ।
रामेछाप जिल्लामा अमिलो जातका फलफूल– जुनार, सुन्तला र कागती राम्रो हुने भएकाले त्यही प्रजातिका बिरुवा उत्पादनलाई प्राथमिकता दिएका छन् । यसबाहेक सयपत्री, मखमलीलगायतका फूल पनि उनले सिजन अनुसार बजारमा पठाउँछन् ।
शाहीले हालसम्म आफ्नै गाउँमा झन्डै एक करोड रुपैयाँ लगानी गरिसकेका छन् । काठमाडौँमा सफल व्यवसायीको परिचय बनाएर बसेका उनी अब भने गाउँमै बस्ने सङ्कल्प लिएका छन् । “गाउँ फर्केपछि सोचेजस्तो भन्दा धेरै राम्रो भइरहेको छ,” उनी भन्छन् , “अब यहीँ बस्ने निर्णय गरेको छु ।”
सुनारपानीका किसानहरूका लागि शाहीको अनुभव प्रेरणादायी बन्न थालेको छ ।
