रामेछाप । मन्थली नगरपालिका जिल्लाकै पहिलो र देशभरमा २७ औँ बालमैत्री स्थानीय शासनयुक्त पालिका बनेको छ । बुधवार विशेष समारोहका बिच बागमती प्रदेशका सामाजिक विकास मन्त्री कन्चनचन्द्र बादेले औपचारिक घोषणा गरेका हुन् ।
१४ वटै वडा बालमैत्री स्थानीय शासनयुक्त घोषणा भइसकेको मन्थलीले बाल संरक्षण, बचाउ, विकास, सहभागिता र संस्थागत विकासका ५१ वटै सूचक पूरा गरी मान्यता पाएको हो । घोषणा कार्यक्रममा मन्त्री बादेले २०८७ सम्म देशभरका सबै स्थानीय तहलाई बालमैत्री शासनयुक्त बनाउने लक्ष्य रहेको उल्लेख गर्दै मन्थलीले पुरा गरेको उपलब्धिलाई प्रदेशकै गौरवको विषय भएको बताए ।
उनले भने, “नेपाल सरकारले २०८७ सालभित्र देशभरका सबै स्थानीय तहलाई बालमैत्री स्थानीय शासनयुक्त बनाउने लक्ष्य लिएको छ । सोही लक्ष्यअनुरूप आवश्यक सबै सूचकहरू पूरा गरी मन्थली नगरपालिका बागमती प्रदेशको ११ औँ बालमैत्री स्थानीय शासनयुक्त पालिका बनेको छ, जुन साँच्चै नै खुसीको कुरा हो ।”
अब यसको दिगोपना सुनिश्चित गर्न प्रदेश सरकारले सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता जनाए।
घोषणा सभामा नगर प्रमुख लव श्रेष्ठले बालमैत्री स्थानीय शासनयुक्त नगर बनाउनका लागि नगरले सञ्चालन गरेका गतिविधि समेटिएको प्रतिवेदन सार्वजनिक गरे । उनका अनुसार १८ वर्षमुनिका १५ हजार ११७ बालबालिका रहेको मन्थली नगरपालिकाले बाल बचाउ (१४), बाल संरक्षण (१०), बाल विकास (६), बाल सहभागिता (६) र संस्थागत विकास (१५) गरी आवश्यक सबै ५१ सूचक पूरा गरेको छ ।
जिल्ला अनुगमन समितिको मूल्याङ्कनपछि गत जेठ २८ गते सबै वडाहरूलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरिएको उनले जानकारी दिए । नगर प्रमुख श्रेष्ठले दिगोपनाका लागि २०८१/८२ देखि २०८५/८६ सम्म लागू हुने पाँच वर्षे रणनीतिक योजना समेत तयार गरिएको बताए ।
मन्थली नगरपालिकामा ६६ वटा सामुदायिक र ६ वटा संस्थागत विद्यालयसहित कुल ८० वटा बालविकास केन्द्र सञ्चालनमा रहेका छन्। नगरभित्र ९ वटा सामुदायिक सिकाइ केन्द्र, १ प्राविधिक शिक्षालय, १ सामुदायिक क्याम्पस र १ विशेष शिक्षा स्रोत कक्षा पनि क्रियाशील छन्।
स्वास्थ्यतर्फ ३० वटा स्वास्थ्य संस्था सेवा दिइरहेका छन्। बालबालिकाको सहभागिता बढाउन नगरमा २ सय बालसमूह, १४ वडा र १ नगर बालसञ्जाल, ५२ किशोरी समूह, १४ वडा स्तरीय किशोरी समूह र १ नगर स्तरीय किशोरी बृत्त सक्रिय रहेका छन्। यी मार्फत ३ हजार ९६९ बालबालिकाले प्रत्यक्ष सहभागिता जनाइरहेको नगर प्रमुख लव श्रेष्ठले बताए।
घोषणा सभामा बालबालिकाले सचेतनामूलक नाटक र सांस्कृतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा बागमती प्रदेश सांसद आनन्द कुमार श्रेष्ठ, तारानारायण श्रेष्ठ, नगर स्तरीय विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरूले मन्थली नगर पहिलो बालमैत्री स्थानीय शासनयुक्त पालिका बन्नु गौरवको विषय भएको बताउँदै दिगोपनाका लागि विशेष योजना आवश्यक रहेकोमा जोड दिए ।
यसैबिच, रामेछाप नगरपालिका पनि घोषणा पर्खाइमा रहेको छ । सबै वडाहरू बालमैत्री घोषणा भइसकेको भए पनि अन्ततः जिल्लामै पहिलो मन्थली पहिलो बालमैत्री स्थानीय शासनयुक्त बनेको हो ।
