रामेछाप । नेकपा एमाले रामेछापको पाँचौँ पूर्णबैठक शुक्रबारबाट मन्थलीमा सुरु भएको छ । बैठक पार्टी जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षतामा तथा एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा सुरु भएको हो ।
दुई दिनसम्म चल्ने बैठकमा वार्षिक आयव्यय विवरण, कार्ययोजना, जरा अभियानको रिपोर्ट, विधान संशोधनलगायत विषयमा छलफल हुने अध्यक्ष पुरुषोत्तम कडरियाले जानकारी दिनुभयो ।
साथै, जिल्ला पार्टीका विभागको पूर्णता, प्रदेश क्षेत्रीय समन्वय कमिटी र जिल्ला सल्लाकार परिषद् गठन, सचिवालय गठनलगायत विषयमा पनि निर्णय हुने उहाँले बताउनुभयो ।
त्यस्तै, मन्थलीमा निर्माणाधीन मदन आश्रित स्मृति भवनका बारेमा समेत बैठकमा छलफल हुने छ । बैठकले पार्टीका पालिका कमिटीका निर्णयहरूलाई अनुमोदन गर्ने पनि जनाएको छ ।
बैठकमा एमाले पोलिटब्युरो सदस्य एवं जिल्ला इञ्चार्ज कमलप्रसाद चौलागाईँ, केन्द्रीय सदस्य माधव ढुङ्गेल, गीता कार्की, प्रदेश कमिटीका सदस्यहरू लगायतको सहभागिता रहेको एमाले रामेछापका सचिव प्रकाश कुमार कार्कीले बताउनुभयो ।
