बागमती प्रदेश सरकारले पूर्णता पायो

  • प्रकाशित मिति: शुक्रबार, साउन ३० २०८२
  • तामाकोशी

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार पाँच मन्त्री थप गर्दै आफ्नो मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। २० साउनमा आफूसहित आठ मन्त्री नियुक्त गरेका बानियाँले दोस्रो चरणमा कांग्रेसका पाँच सदस्यलाई समावेश गर्दै मन्त्रिपरिषद् १४ सदस्यीय बनाएका हुन्।

नवनियुक्त मन्त्रीहरूमा कञ्चनचन्द्र बादे (सामाजिक विकास), प्रभात तामाङ (आर्थिक मामिला तथा योजना), उर्मिला केसी नेपाल (युवा तथा खेलकुद), सुरेश श्रेष्ठ (संस्कृति तथा पर्यटन) र बिनु रायमाझी पौंडेल (सहकारी तथा गरिबी निवारण) छन्।
२० साउनमा कांग्रेसबाट खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमा कृष्ण तामाङ र बिना विभागीय मन्त्रीका रूपमा शिवराज अधिकारी नियुक्त भएका थिए। मन्त्रालय भागबण्डा अनुसार अधिकारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ।



त्यसअघि नेकपा एमालेबाट मधुसुदन पौंडेल (कृषि तथा पशुपन्छी विकास), डा. दिनेशचन्द्र देवकोटा (भौतिक पूर्वाधार विकास), भरत केसी (वन तथा वातावरण), जयरथ थापा (श्रम, रोजगार तथा यातायात) र बिन्दु श्रेष्ठ (उद्योग, वाणिज्य, भूमि तथा प्रशासन) मन्त्री बनेका थिए। कांग्रेस र एमालेबीचको भागबण्डाअनुसार दुवै दलले सुरुवाती चरणमा ६–६ मन्त्रालय पाएका थिए। तर, निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाले कांग्रेसभित्रको विवाद समाधानका लागि मन्त्रालय विभाजन गर्दै सहकारी तथा गरिबी निवारण मन्त्रालय थप गरेपछि संख्या १४ पुगेको हो।