रामेछाप । रामेछापको ऐतिहासिक धार्मिक शक्तिपीठ खाँडादेवी मन्दिरसम्म पुग्ने सडक अव्यवस्थित हुँदा दर्शनार्थीलाई ठूलो सास्ती भएको छ। पकरबास–गाल्पा सडक खण्डबाट मन्दिरतर्फ जाने झण्डै तीन किलोमिटर दूरीको सडक जोखिमपूर्ण बनेको हो।
खाँडादेवी मन्दिर जानका लागि पकरबास–गाल्पा सडकबाट दुई सहायक बाटो छन्—एक माकादुमको रायगाउँ हुँदै जाने र अर्को चोप्राङ डाँडा हुँदै मन्दिरतर्फ पुग्ने। दुबै कच्ची सडक साँघुरा र अप्ठ्यारा छन्, जसका कारण सवारी साधनहरु बिचल्लीमा पर्ने गरेका छन्। वर्षा याममा सडक थप बिग्रिने र यातायात ठप्प हुने समस्या बारम्बार देखिएको खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङले जानकारी दिनुभयो।
तामाङका अनुसार, वर्षायाममा सडक सञ्चालनमा ल्याउन विकास कोषले दैनिकजसो श्रमिक परिचालन गरेर मर्मतको काम गर्दै आएको छ। चालु आर्थिक वर्षमा ती सडक मर्मतका लागि क्रमशः ५५ लाख र ४० लाख रुपैयाँ बजेट विनियोजन भएको समेत उहाँले बताउनुभयो।
दर्शनार्थीको सहज आवागमनका लागि बजेटको प्रभावकारी उपयोग होस् भन्ने स्थानीयको अपेक्षा छ। तर, बिपी राजमार्ग बारम्बार अबरुद्ध हुने र खाँडादेवी पुग्ने सडकको अवस्था खराब हुँदा काठमाडौं उपत्यकाबाट मन्दिर आउन चाहने दर्शनार्थीको संख्या घटेको छ। कतिपय श्रद्धालुहरू त जोखिमपूर्ण सडककै कारण मन्दिरमै नआउने गरेका छन्।
खाँडादेवी मन्दिर रामेछापको प्रमुख धार्मिक गन्तव्यमध्ये एक हो। २०७० सालमा स्थापना भएको खाँडादेवी विकास कोषले मन्दिर व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएको छ। धार्मिक ग्रन्थ ‘देवी भागवत महापुराण’ र ‘शिवपुराण’को हिमवत् खण्डमा समेत उल्लेख भएको यस शक्तिपीठमा कोषले बडादशैं र चैतेदशैंमा विशेष पूजा तथा दैनिक पूजाको व्यवस्था गर्दै आएको छ।
