रामेछापका प्रकाशराज पाण्डे ‘काष्ट्रेन्ज पिरामिड’ आरोहणका लागि प्रस्थान गर्दै

  • प्रकाशित मिति: सोमबार, असार २३ २०८२
  • नवराज श्रेष्ठ

रामेछाप । सेभेन समिट अभियानअन्तर्गत विश्वका सात महादेशका सर्वोच्च शिखर आरोहणको क्रममा रामेछापका युवा पर्वतारोही प्रकाश राज पाण्डे अब इण्डोनेशियातर्फ प्रस्थान गर्दै छन्। उहाँको लक्ष्य ओसिनिया क्षेत्रको सबैभन्दा अग्लो चुचुरो काष्ट्रेन्ज पिरामिड सफलतापूर्वक आरोहण गर्नु हो।
लिखु तामाकोसी गाउँपालिका–७, तिल्पुङ स्थायी घर भएका पाण्डे हालसम्म सगरमाथा, ‘किलर माउन्टेन’ भनेर चिनिने मनास्लु, साथै युरोप, अफ्रिका र दक्षिण अमेरिकाको सर्वोच्च शिखरहरू सफलतापूर्वक आरोहण गरिसक्नुभएको छ।

“सेभेन समिट अभियान अन्तर्गत अहिले काष्ट्रेन्ज पिरामिडको तयारीमा छु,” पाण्डेले भन्नुभयो, “यस अभियानमा सबैको साथ र सहयोग आवश्यक छ। केही स्थानीय सरकारबाट पाएको सहयोगले मलाई थप हौसला मिलेको छ।”



पाण्डेले आफ्नो जन्मथलो लिखु तामाकोसी गाउँपालिकाले पर्वतारोहणमा प्रयोग हुने एडभेन्चर गियरको प्याकेज सहयोगस्वरूप उपलब्ध गराएको जानकारी दिनुभयो।

गाउँपालिका अध्यक्ष केशव महतले यस्ता साहसिक तथा प्रेरणादायी यात्रामा साथ दिन पाउँदा खुसी लागेको बताउनुभयो। “हामी भविष्यमा पनि यस्ता प्रतिभालाई निरन्तर सहयोग गर्नेछौं,” अध्यक्ष महतले भन्नुभयो, “अन्य पालिकाहरूले पनि यस्ता प्रयासप्रति साथ दिनुपर्छ भन्ने हाम्रो विश्वास छ।”

पर्वतारोहणजस्तो चुनौतीपूर्ण क्षेत्रमा आफूले देश र गाउँको नाम चिनाउन पाइरहेकोमा गर्व लागेको पाण्डेले बताउनुभयो। साथै, स्थानीय सरकारले दिएको साथप्रति धन्यवाद दिँदै भविष्यमा पनि यस्तै गौरवमय कार्यमा लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।