काठमाडौं, नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चको आयोजनामा रामेछाप जिल्लाबाट SEE 2081 मा सफल भएका विद्याथीहरू तथा विभिन्न जनवर्गीय संगठनमा केन्द्रिय प्रतिनिधित्व गर्ने रामेछापबासी व्यक्तित्वहरूलाई सम्मान गरिएको छ।
काठमाडौंको कोटेश्वरस्थित एवान पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको उपस्थिति रहेको थियो।
सो अवसरमा मन्त्री पन्तले आधुनिक शिक्षाको महत्त्व र विद्यार्थीहरूले अपनाउनुपर्ने अध्ययन पद्धति तथा अनुशासनका विषयमा विशेष जोड दिनुभयो। उहाँले विद्यार्थीहरूले अध्ययनसँगै चरित्र निर्माणमा पनि ध्यान दिनुपर्ने बताउनुभयो।
मञ्चका अध्यक्ष प्रमोद भण्डारी (रविन्द्र) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले पोलिटब्यूरो सदस्य कमल चौलागाईं, केन्द्रिय सदस्य माधव ढुङ्गेल, गीता कार्की, बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेललगायतले आ–आफ्ना धारणा राख्दै, शिक्षा र नेतृत्व क्षमताको विकासमा यस्ता कार्यक्रमहरूले सकारात्मक सन्देश दिने उल्लेख गर्नुभयो।
सम्मानित विद्यार्थीहरूलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो भने केन्द्रिय तहमा पुगेर योगदान दिइरहेका रामेछापका व्यक्तित्वहरूप्रति समेत मञ्चले कृतज्ञता प्रकट गरेको थियो।
कार्यक्रमले रामेछाप जिल्लाको शैक्षिक र राजनीतिक उन्नयनमा युवाहरूको भूमिका र भावी पुस्ताको मार्गदर्शनमा प्रेरणादायी प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।