रामेछाप । नेकपा एमाले केन्द्रीय सदस्य एवं संगठन विभाग सचिव माधव ढुङ्गेलले पार्टीको आगामी विधान महाधिवेशन तोकिएकै मितिमा हुने स्पष्ट पार्नुभएको छ।
नेकपा एमाले रामेछापद्वारा मन्थलीमा आयोजित जिल्ला स्तरीय कार्यशालामा बोल्दै ढुङ्गेलले पार्टीको आगामी रणनीति, सांगठनिक संरचना र नेतृत्व चयनसम्बन्धी निर्णय यही महाधिवेशनबाट हुने बताउनुभयो।
“२०८४ सालको निर्वाचनमा एमालेको नेतृत्व कसले गर्ने भन्ने प्रश्नको उत्तर पनि विधान महाधिवेशनबाटै आउनेछ,” उहाँले भन्नुभयो, “यदि केपी शर्मा ओलीकै नेतृत्व हुने निष्कर्ष निस्कियो भने पार्टीको उमेर हद र जिम्मेवारी त्यही अनुसार निर्धारण हुनेछ।”
ढुङ्गेलले एमालेलाई राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, राजनीतिक स्थायित्व र शान्तिको पक्षमा दृढतापूर्वक उभिएको पार्टीको रुपमा चित्रण गर्दै त्यही कारणले पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको टिप्पणी गर्नुभयो।
कार्यक्रम नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षता तथा पार्टी उपमहासचिव एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य कमल चौलागाईं, प्रदेश कमिटी सचिवालय सदस्य शान्तिप्रसाद पौडेललगायतको उपस्थिति रहेको थियो।