रामेछाप । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज कमल प्रसाद चौलागाईंले एमाले नै देशको दूरगामी भविष्य बोकेको एक मात्र राजनीतिक शक्ति भएको दाबी गर्नुभएको छ।
शुक्रवार उमाकुण्ड गाउँपालिका कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै चौलागाईंले एमाले विधि र प्रक्रियामार्फत जनतासँग जोडिएको पार्टी भएको बताउनुभयो।
उहाँले भन्नुभयो, “विगतदेखि नै एमाले जनताको मर्म बुझ्ने, नियमसम्मत ढङ्गबाट अघि बढ्ने र सधैँ परिवर्तनको पक्षमा उभिएको पार्टी हो।” नेता चौलागाईंले एमालेलाई युवा पुस्ताका लागि पनि परिवर्तनशील र प्रगतिशील शक्तिका रूपमा चित्रण गर्नुभयो। उहाँले युवाहरूको सक्रिय सहभागिता र नेतृत्वबाट देशमा अपेक्षित रूपान्तरण सम्भव हुने विश्वास व्यक्त गर्नुभयो।
(एमाले) बागमती प्रदेश सदस्य तथा उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले आफूले एमालेको टिकटमा दुई पटक निर्वाचित भई उत्कृष्ट काम गरेको दाबी गर्नुभयो । अध्यक्ष सुनुवारले इमानदारी र जिम्मेवारीका साथ काम गरे कठिन परिस्थिति भए पनि सफलता पाउन सकिने बताउनुभयो।
“मैले जनताबाट पाएको म्यान्डेट र पार्टीप्रतिको निष्ठाका साथ काम गर्दा विकासका थुप्रै काम गर्न सफल भएको छु,” उहाँले भन्नुभयो।
बैठकमा नेकपा (एमाले) बागमती प्रदेश सदस्य एवं गाउँपालिका इन्चार्ज गङ्गादेवी कार्कीले एमालेलाई कमजोर बनाउने प्रयासमा अन्य दलहरू सक्रिय रहेको आरोप लगाउँदै त्यस विरुद्ध एकजुट हुन सबै नेता कार्यकर्तालाई आग्रह गर्नुभयो। “म एमालेको झोले कार्यकर्ता हुँ, त्यो झोलामा देश विकासको लामो सपना बोकेको छु,” कार्कीले भन्नुभयो । उहाँले सङ्गठनलाई बलियो बनाउन एकता, प्रतिबद्धता र सक्रियताको खाँचो रहेकोमा जोड दिनुभयो।
एमाले उमाकुण्ड गाउँपालिका कमिटी अध्यक्ष नवराज खत्री (मिलन) को अध्यक्षतामा भएको बैठकमा पार्टीको संगठनात्मक अवस्था, आगामी रणनीति तथा स्थानीय तहमा जनसंगठन विस्तारबारे छलफल गरिएको छ ।