पार्टीभित्र निर्वाचन हुन नदिनु भनेको जबजको विरोध गर्नु हो : उपमहासचिव गुरुङ

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ २२ २०८२
  • तामाकोशी

भक्तपुर । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमाले नै सबैभन्दा राम्रो नीति र सिद्धान्त भएको राजनीतिक दल भएको दाबी गर्नुभएको छ। बिहीबार भक्तपुरमा नेकपा (एमाले) बागमती प्रदेशस्तरीय प्रचार कार्यशालालाई सम्बोधन गर्दै नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहनुभएका गुरुङले यस्तो बताउनुभएको हो ।

उहाँले पार्टीको स्पष्ट नीति, सुदृढ संगठन र दीर्घकालीन दृष्टिकोणले देशलाई स्थायित्व र समृद्धिको दिशामा लैजान सक्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “देशलाई सुशासन र समृद्धितर्फ डो–याउन सक्ने एक मात्र पार्टी एमाले हो। संगठन पनि व्यवस्थित रूपमा सञ्चालनमा रहेको पार्टी एमाले नै हो।”



कार्यशालामा मन्त्री गुरुङले पार्टीभित्र देखा परेका कमीकमजोरीबारे पनि स्पष्ट धारणा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “भएका केही कमीकमजोरीलाई सुधार गर्दै अगाडि बढ्नुपर्छ। कार्यशैली, आचार र व्यवहारमा सुधार ल्याउन जरुरी छ। यसको अर्को विकल्प छैन।”

पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यास गर्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले भने, “पार्टीभित्र निर्वाचन हुन नदिनु भनेको जबज (जनताको बहुदलीय जनवाद) को विरोध गर्नु हो। लोकतान्त्रिक पार्टीभित्र प्रतिस्पर्धा र प्रक्रिया हुनु अनिवार्य छ।”
उहाँले थप भन्नुभयो, “एमाले निर्वाचनमा पराजित भए, त्यो आफ्नै कमजोरीका कारण हुनेछ। अहिले पार्टीमा अराजकता हाबी भएको छ, यसलाई अन्त्य गर्न आवश्यक छ।”