समाजमा जातीय विभेद कायमै रहेको गुनासो

  • प्रकाशित मिति: बुधबार, जेष्ठ २१ २०८२
  • नवराज श्रेष्ठ

रामेछाप । रामेछापको मन्थली नगरपालिका–७ की उर्मिला थापा मगरको मन्थली नगरपालिका–१ का पवन विकसँग प्रेम बस्यो । प्रेम झाँगिइरहँदा अन्तरजातीय हुनुको कारणले यो जोडीलाई आफ्नो प्रेम सफल हुँदैन कि भन्ने डर थियो ।

तर उर्मिलाले हिम्मत जुटाएर पवन सीतै विवाह गर्ने निर्णयमा पुग्नुभयो । सुरुमा पवनलाई आफूलाई भन्दा पनि आफ्नी प्रेमिका उर्मिलालाई समस्या हुने ठानेर विवाह गरिहाल्ने हिम्मत आएन । तर उर्मिलाको निरन्तरको आत्मविश्वासले उहाँहरू आफ्नो प्रेमलाई टुङ्गोमा पु¥याउने निर्णयमा पुग्नुभयो र १४ वर्षअघि २०६८ साल असारमा भागेर विवाह गर्नुभयो ।



उर्मिलाले आफूलाई धेरै माया गर्ने जीवनसाथी त पाउनुभयो । तर जन्म दिने बुबाआमासहित माइतीको माया त्याग्नुप¥यो । उर्मिलालाई अहिलेसम्म माइतीले बोलाएका छैनन् ।
अहिलेसम्म आफूहरू खुसी रहेको उर्मिला उर्मिला थापा मगर विकले बताउनुभयो । तर विवाहपछि हालसम्म माइत जान नपाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “हामीले प्रेम गरेर विवाह गरेका हौँ । हाम्रो वैवाहिक जीवन राम्रो चलेको छ । हामी दुवै जना धेरै खुसी छौँ । तर माइतीमा आऊ जाऊ छैन । अहिलेसम्म माइतीले बोलाएको छैन । बोलाउनु नबोलाउनु उहाँहरूको खुसीको कुरा हो ।”

अरू कुरा राम्रो भए पनि श्रीमती माइती जना नपाउँदा आफूलाई दुःख लाग्ने गरेको उर्मिलाको श्रीमान् पवन विकले बताउनुभयो । उहाँले भन्नुभयो हामीले विवाह गरेको डेढ दशक हुन लाग्यो । अहिलेसम्म हामी धेरै खुसी छौँ । तर उनी विवाह गरेदेखि अहिलेसम्म माइत जान पाएको छैन । यसमा दुःख लाग्छ ।” आफूहरू जस्तै धेरै अन्तरजातीय विवाह गरेकाहरूले माइती, घर परिवार त्याग्नुपर्ने समस्या रहेको उहाँले बताउनुभयो । उहाँले अहिले पनि धेरै जातीय विभेदका घटनाहरू भइरहेको भन्दै समाजमा समाजमा जातीय विभेदको अन्त्य कहिले हुन्छ ? भन्दै प्रश्न गर्नुभयो ।

जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं ८ गागलकी रिता खड्काले पनि मन्थली नगरपालिका–२ सुमन नेपालीसँग २०७९ सालमा प्रेम विवाह गर्नुभयो । अहिले उहाँको वैवाहिक जीवन राम्रोसँग चलिरहेको छ । तर जात भनेको महिला र पुरुष दुई हो भन्ने बुझेको भए पनि परिवार तथा समाजले अझै अन्तरजातीय विवाहलाई स्वीकार गर्न नसकेको रिताले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो“भन्न त भनिन्छ यो संसारमा जात भनेको महिला र पुरुष मात्रै हो । तर अझै हाम्रो समाजमा जातीय विभेद कायमै छ । हामी जस्ता अन्तरजातीय विवाह गर्नेहरूलाई परिवार र समाजले स्वीकार गर्न अझै सकेका छैनन् ।” समाज परिवारले जे जस्तो व्यवहार गरे पनि आफूहरू खुसी रहेको उहाँले बताउनुभयो ।

अन्तरजातीय विवाह गरेर जीवन बिताइरहेका यी दुई जोडी बुधवार जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस २०८२ को अवसरमा राष्ट्रिय दलित पत्रकार सङ्घ रामेछापले मन्थलीमा सम्मान गरेको जोडी मध्यका हुन् । यसरी अन्तरजातीय विवाह गर्नेहरु रामेछापमा धेरै छन् । मन्थली नगरपालिकाको सहयोगमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ रामेछापको सहआयोजनामा भएको कार्यक्रममा अन्तरजातीय विवाह गरेका १४ जोडीलाई नगद सहित सम्मान गरिएको थियो ।

जिल्लाका अधिकांश अन्तरजातीय विवाह गरेका जोडिएको गुनासा र समस्या यी दुई जोडीकै जस्ता छन् । सरकारले नेपाललाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको आज १८ वर्ष पुरा भइसकेको छ । अहिले पनि बेलाबेला जातीय विभेदका घटना भइरहेका कार्यक्रममा सहभागीहरूले बताए । नेपालमा जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय ऐन २०६८’ जारी भएको १४ वर्ष भएको छ । समता फाउन्डेसनका अनुसार यस अवधिमा पानी, चुल्हो छोएको र अन्तरजातीय विवाह गरेको निहुँमा १७ जना दलित समुदायका व्यक्तिको हत्या भएको छ भने कैयौँ सामाजिक बहिष्करणमा परेका छन्।