रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–५ गोगनपानी स्थित ङग्युर साम्तेलिङ्ग गुम्बा तथा अध्ययन केन्द्र अलपत्र बनेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ८० प्रतिशत र खाँडादेवी गाउँपालिकाको २० प्रतिशत आर्थिक साझेदारीमा २०७८ भदौबाट गुम्बा तथा अध्ययन केन्द्र निर्माण सुरु भएको थियो ।
समयमै काम हुन नसक्दा गुम्बा तथा अध्ययन केन्द्र अलपत्र मात्रै बनेको छैन निर्माण भइसकेका संरचनाहरू समेत संरक्षणको अभावमा जीर्ण बनेको छ ।
यो भवन अघिल्लो जनप्रतिनिधिकै कार्यकाल २०७८ मै ठेक्का लागेको थियो । तामाङ जातिको संस्कार अनुसार विवाह गर्ने हल भएको दुई वटा सुविधा सम्पन्न भवन बन्ने स्टमेड छ ।
यी संरचनाहरू निर्माण गर्न झन्डै सात करोड लागत अनुमान थियो । तर एक वर्षमा काम सम्पन्न गर्ने गरी पाँच पोखरी निर्माण सेवा प्रा.लिले तीन करोड ४८ लाख रुपैयाँमा ठेक्का परेको थियो ।
निर्माण व्यवसायीले सम्झौता अनुसार काम गर्न नसक्दा गुम्बा तथा अध्ययन केन्द्रको भवन अलपत्र बनेको खाँडादेवी गाउँपालिका–५ पकरबासका वडा अध्यक्ष मनोज पौडेलले बताउनभयो । उहाँले भन्नुभयो“सम्झौता नै तोकिएको समयभित्र काम नभए भुत्ताकीको जिम्मा पालिकाले लिनुपर्ने गरी भएको रहेछ । ठेकेदारले समयमै काम गर्न नसकेपछि मन्त्रालयले भुक्तानी दिएन । यति ठुलो बजेट पालिकाले भुक्तानी गर्न सक्ने अवस्था पनि छैन ।”
गाउँपालिकाले आवश्यक ताकेता तथा समन्वय गर्न नसक्दा ङग्युर साम्तेलिङ्ग गुम्बा तथा अध्ययन केन्द्र निर्माणको काम अलपत्र बनेको खाँडादेवी गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर तामाङ बताउनुहुन्छ ।
उहाँले भन्नुभयो “एक वर्षमा काम सक्ने गरी २०७८ भदौबाट काम सुरु भयो । त्यस बेला निर्माण व्यवसायीले पनि राम्रोसँग काम गर्न सकेन । पछि २०७९ वैशाख ३० गते स्थानीय तह निर्वाचन भयो ।
त्यसपछि गाउँपालिकाले ताकेता तथा समन्वय गर्न सकेन । यही कारणले अहिले गुम्बा तथा अध्ययन केन्द्र निर्माणको काम अलपत्र बन्यो ।” यसबारेमा आफूले संस्कृति तथा पर्यटन मन्त्रालयसँग बुझ्दा सम्झौता अनुसार प्रगति नभएकै कारणले थप बजेटको व्यवस्थापन नगरिएको भन्ने कुरा आएको उहाँले बताउनुभयो ।
अघिल्लो जनप्रतिनिधिको कार्यकालमा भएको गुम्बा तथा अध्ययन केन्द्र अलपत्र बनेको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो “अघिल्लो जनप्रतिनिधिले २१ लाख रुपैयाँ बजेट निर्माण व्यवसायीलाई भुक्तानी नदिई पालिकाको सञ्चित कोषमै राखिएको रहेछ ।
महालेखाको प्रतिवेदनले नै २१ लाख रुपैयाँ दुरुपयोग भएको सङ्घको राजश्व खातामा फिर्ता गर्न भनेको छ । यसबारे निर्माण व्यवसायी पनि जानकार छ । पालिकाले २० प्रतिशत थपेर निर्माण व्यवसायीलाई दिनुपर्नेमा उल्टो आएको पैसा पनि दुरुपयोग भयो ।”
सम्झौताको ३३ प्रतिशत मात्रै काम भएको र पहिलो किस्ता बापतको रकम भुक्तानी दिइसकेको भन्दै अब केही गर्न नसकिने भनेर ६ महिना अगाडि अर्थ मन्त्रालयबाट चिठ्ठी आएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
आफूहरू आएपछि पहिलो बजेट बनाउँदा ठेक्का लागेको रकमको पालिकाले दिनुपर्ने २० प्रतिशत अर्थात् ४७ लाख रुपैयाँ बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । त्यसपछि चालु आर्थिक वर्षमा पनि ३० लाख रुपैयाँ बजेट रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो“निर्माण व्यवसायीले अहिले भएको कामको ८५ लाख रुपैयाँ भुक्तानी दाबी गरेको छ । काम सम्पन्न नभएकाले दाबी गरेको रकम भुक्तानी दिने पालिकालाई कुनै पनि आधार छैन । फेरी सम्झौताको म्याद सकिएको पनि लामो समय भइसकेको छ । यस्तो अवस्थामा पालिकाले कसरी भुक्तानी दिन सक्छ ।” अहिले पुरानो ठेक्का तोडेर नयाँ प्रक्रियामा गएर भए पनि गुम्बा तथा अध्ययन केन्द्र निर्माण पुरा गर्ने सोचमा गाउँपालिका रहेको उहाँले बताउनुभयो ।
यसका लागि सङ्घ तथा प्रदेशसँग आवश्यक बजेट माग गरिएको समेत उहाँले बताउनुभयो । यदि सङ्घीय तथा प्रदेश सरकारबाट बजेट नआएको खण्डमा पालिका आफैले भए पनि गुम्बा तथा अध्ययन केन्द्र निर्माण पुरा गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।